काठमाण्डौं । शनिबार राति ह्वाइट हाउसभित्र राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी रात्रिभोज चलिरहेका बेला नजिकै बाहिर गोली चल्दा भागाभाग भएको छ। पत्रकारहरूसँगको डिनर भइरहेका बेला नजिकै अचानक गोली चलेपछि गुप्तचर सेवाको टोलीले ट्रम्पलाई हतार हतार हलबाट बाहिर लगेको थियो भने भित्र ठुलो त्रासको वातावरण सिर्जना भएको थियो।
ह्वाइट हाउसका समाचार संकलन गर्ने संवाददाताहरूसँगको रात्रिभोजमा राष्ट्रपति ट्रम्पसँगै उनकी श्रीमती मेलानिया र उपराष्ट्रपति भान्सलगायत धेरै जना वरिष्ठ अधिकारी पनि थिए। यसैबिच गोली चल्दा त्यहाँ मच्चिएको भागदौडका केही तस्बिर सार्वजनिक भएका छन्। घटनाको समयमा खिचिएको फुटेजमा ट्रम्प र अन्य सहभागीहरू टेबलमुनि लुकेको देखिन्छ। त्यतिबेला हलमा उपस्थित मानिसहरू तल बस्नुहोस्, तलै रहनुहोस् भन्दै चिच्याइरहेका थिए।
ठूलो आवाज सुनिएलगत्तै हतियारधारी सेक्रेट सर्भिस एजेन्टहरूले ट्रम्पलाई घेरेर तत्कालै त्यहाँबाट बाहिर निकालेका थिए। घटनापछि सुरक्षाकर्मीहरूले कार्यक्रम स्थललाई आफ्नो नियन्त्रणमा लिएका छन्। घटनास्थलमा रहेका एक सुरक्षा अधिकारीका अनुसार त्यहाँ सात देखि आठ गोली चलाइएको थियो। सन्दिग्ध बन्दुकधारी मारिएको हो वा हिरासतमा लिइएको हो भन्ने बारेमा विवादास्पद रिपोर्टहरू आएका छन् । यद्यपि राष्ट्रपति ट्रम्पले केही समय अघि सामाजिक सञ्जालमार्फत बन्दुकधारी पक्राउ परेको उल्लेख गरेका छन् ।
