काठमाडौं। नेकपा ( एमाले ) रूपान्तरण र पुनर्संरचनाका लागि क्रियाशील ‘पुनर्जागरण अभियान(२०८२’ले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन, पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्न र निर्वाचनको निर्मम समीक्षा गर्न माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिएको छ।
अभियानका संयोजक गजेन्द्र थपलियालगायतका नेताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। गत फागुन २१ को जनादेशपछि बदलिएको राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक अवस्थाबारे ध्यानाकर्षण गराउँदै बुझाइएको पत्रमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र कार्यदलका प्रतिवेदनहरू कार्यान्वयन नभएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
चुनाव सकिएको करिब ६ महिना पुग्न लाग्दा समेत केन्द्रीय कमिटीको बैठक बस्न नसक्नुलाई गम्भीर र चिन्ताजनक भनिएको छ । निर्वाचनमा व्यहोरेको पराजयको वस्तुनिष्ठ समीक्षा गरी नयाँ उत्साह भर्नुपर्ने समयमा पार्टी नेतृत्वले बैठक टार्दै आएको टिप्पणीसमेत गरिएको छ ।
एमालेले जनताको विश्वास गुमाउँदै गएको उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘फागुन २१ गतेको जनादेशबाट बनेको सरकारप्रति जनतामा निराशा बढ्दै गएको देखिन्छ । सरकारका अन्योलग्रस्त नीति र शासन सञ्चालनमा देखिएको अपरिपक्वताले राष्ट्रिय हित र सुरक्षामा समेत चिन्ता बढाएको छ ।’ पार्टीद्वारा गठित ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ ले तयार पारिसकेको प्रतिवेदन सार्वजनिक नगरिएको र छलफलमा नल्याइएकोमा असन्तुष्टि व्यक्त गरिएको छ ।
