काठमाडौँ । स्थानीय प्रशासनले काठमाडौँको सुकुमबासी बस्ती खाली गर्न माइकिङ गर्न थालेको छ । बिहीबार साँझबाट सूचना स्वरूप स्थानीय प्रशासनले माइकिङ गर्न थालेको हो । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को निर्देशनपछि बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुकुमबासी बस्ती हटाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार बिहिवार साँझदेखि नै माइकिङ गर्न थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक अधिकृतले बताए ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला सुरक्षा समितिको बैठकपछि काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग पनि छलफल गरेका थिए । बैठकको निर्णय अनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत स्थानीय प्रशासनले वैशाख ११ गते साँझ ७ बजेसम्म अवैध घर र टहरा खाली गर्न भन्दै माइकिङ गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
‘२०८३ साल वैशाख १२ गते शनिवारबाट नदी तथा खोलाका अव्यवस्थित संरचना हटाउन लागको सूचना बस्तीमा बस्नेहरूलाई दिइएको छ ।’ प्रशासनले सो अभियानलाई साथ दिन आग्रह गर्दै शुक्रवार साँझसम्म सर सामान हटाएर बस्ती छाड्न अनुरोध गरेको छ । प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र सामान नहटाएर कानुन अनुसार घर, टहरा हटाइने छ ।’ पहिलो चरणमा थापाथली, शान्तिनगर स्थित गैह्रिगाउँ, मनहरा खोला किनारको बस्ती हटाउने निर्णय गरिएको छ । मनहरा खोलाको काठमाडौँ र भक्तपुर तर्फको पनि बस्ती हटाइने सुरक्षा जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू बताउँछन्।
