काठमाडौँ । मोटोपन न्यूनीकरणसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ। साउथ एशियन ओविसिटी फोरमको आयोजनामा आज देखि मोटोपन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो। सम्मेलनमा १०० बढी अन्तराष्ट्रिय विज्ञहरूसहित ४०० जनाको सहभागिता रहेको फोरमकी अध्यक्ष तथा इन्डोक्राइनोलोजिष्ट डा. डिना श्रेष्ठले बताइन्। यस्तै नेपालबाट पनि इन्डोक्राइनोलोजिष्ट विशेषषज्ञहरू धेरैको सहभागिता रहेको छ।
नेपाल लगायत साउथ एशियामा मोटोपन ठूलो स्वास्थ्य समस्याका रुपमा आएको र यसलाई कम गर्न संयुक्त रुपमा के कस्ता कार्यक्रम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरिएको फोरमकी अध्यक्ष डा श्रेष्ठले बताइन्। सम्मेलनमा सहभागी भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशका विज्ञहरूले मोटोपन कम गर्न सबैले एक भएर काम गर्ने बेला आइसकेको धारणा व्यक्त गरे। उनीहरूले मोटोपनकै कारण मधुमेह, मुटुरोग, मिर्गौला रोग तथा श्वासप्रश्वासमा समेत समस्या बढेको भन्दै मोटोपनलाई वेवास्ता गर्न नहुने र यसको नियन्त्रणको लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिए।
विज्ञहरूका अनुसार मोटोपन दुई प्रकारको हन्छ। पहिलो बाहिरबाटै देखिने र अर्को बाहिर हेर्दा दुब्लो पातलो भए पनि भित्री अंगमा हुने मोटोपन। दोस्रो मोटोपन अझ हानिकारण हुने समेत डा श्रेष्ठले बताइन्। कार्यक्रममा आयोजक संस्थाका तर्फबाट वरिष्ठ इन्डोक्राइनोलोजिष्ट तथा लाइफस्टाइल कोचसमेत रहेका डा सन्तोष शाक्यले धारणाा राखेका थिए।
उनले मोटोपनलाई कम गर्न सबैले आ–आफनो तर्फबाट प्रयास गर्नपर्ने र त्यसका लागि पहिलो मन्त्रका रुपमा आहार, विहार र विचारमा ध्यान दिनुपर्ने बताए। सम्मेलनमा मोटोपनले निम्त्याएका समस्या, यसको उपचारमा प्रयोग हुने औषधि लगायत विविध पक्षमा व्यापक छलफल गरिरहेको डा शाक्यले बताए।
