काठमाण्डौ. । संघीय संसद्, प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज ( शुक्रबार ) निर्वाचन हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया अघि बढ्ने कार्यसूची छ। उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को तर्फबाट ५९ वर्षीया सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट २६ वर्षीया रुबी कुमारी चुनावी मैदानमा छन्। रुबीलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को पनि समर्थन रहेका कारण उनी निर्वाचित हुने लगभग पक्का भएको छ।
संसद् सचिवालयका अनुसार बैठकको सुरुमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्नेछन्। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसलगत्तै उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ। बैठकमा ज्ञान बहादुर शाहीले ‘यस सभाका माननीय सदस्य मा० सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यो प्रस्तावलाई ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गरेका छन्।
त्यस्तै, अर्का उम्मेदवारका तर्फबाट आरेन राईले ‘यस सभाका माननीय सदस्य मा० रुबी कुमारीलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावको समर्थकमा अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौला रहेका छन्। दुवै प्रस्तावमाथि सदनमा छलफल र मत विभाजन भएपछि उपसभामुखको टुंगो लाग्नेछ।
