नवलपरासी । निरन्तरको वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लोका कारण दाउन्ने खण्ड पूर्णरूपमा अबरुद्ध भएको हो।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई सवारी साधान सडकमा ‘फसे’काले आवतजावत अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। बुधबार दिउँसोदेखि परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा सवारी साधन रोकिएका छन्।
‘हिजो दिउँसोदेखि लगातार सिम–सिम पानी परिरहेकाले दाउन्ने उकालोमा गाडी चिप्लिएर गुड्न समस्या भइरहेको छ, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ’, उनले भने, ‘मालवाहक सवारीसाधनलाई अहिले अरुणखोला क्षेत्रमा नै रोकिएको छ।’
दाउन्ने खण्डमा वर्षाले सवारी आवागमनमा समस्या भएपछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अबरुद्ध हुने गरेको छ।
