काठमाण्डौं । लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर दर्शकमाझ फर्किने भएको छ । कार्यक्रम आगामी बैशाख ४ गते, शुक्रबारदेखि प्रसारणमा आउने जनाइएको छ । पहिलो र दोस्रो सिजनको सफलतापछि करिब तीन महिनाको अन्तरालमा शो नयाँ ढंगले प्रस्तुत हुन लागेको हो । यसपटक कार्यक्रम नयाँ सेट, नयाँ कमेडियन, नयाँ जज र परिमार्जित फम्र्याटसहित ल्याइँदैछ, जसले दर्शकलाई थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार ३’ घोषणा गरिएको छ।
काठमाडौंमा आयोजित कार्यक्रमबीच तेस्रो सिजनको घोषणासँगै प्रसारण मिति सार्वजनिक गरिएको हो। यसपटक नयाँ प्रस्तुति शैली, अझ भव्य सेट र विविधतापूर्ण कन्टेन्टसहित आगामी बैशाख ४ गतेदेखि दर्शकमाझ आउन लागेको निर्माणटिमले जनाएको छ। तेस्रो सिजन अघिल्लाभन्दा अझ मनोरञ्जनात्मक, सशक्त र दर्शकमैत्री हुने टिमको विश्वास छ।
यस सिजनमा पनि ‘महाराजा’ को रूपमा मनोज गजुरेल र ‘महारानी’ को रूपमा गौरी मल्ल रहेका छन्। रानीको रूपमा अभिनेत्री दीया मास्के भित्रिएकी छिन्। त्यस्तै, कमेडियनहरू दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बा यसपटको सिजनमा थपिएका छन्। यसअघिका कलाकारहरू सीडी विजय अधिकारी, विश्वास तिम्सिना ( बीटी कान्छा ) , सुन्दर खनाल, पवित्रा साँकी ९मिस पबी०, सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्यालले निरन्तरता पाएका छन्।
लेखन टिममा विकास अर्याल र सरोज भण्डारी रहेका छन्। होस्टका रूपमा सजिना खनाल र विक्की अग्रवालको निरन्तरता रहनेछ। निर्देशन पनि विक्की अग्रवाल र श्रद्धा प्रसाईंकै रहनेछ। ‘कमेडी दरबार ३’ बैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे ओएसआर रियालिटी तथा प्राइम टाइम टेलिभिजनमार्फत प्रसारण हुनेछ।
