काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो । चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकैपटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।
‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ,’ अध्यक्ष घिसिङले भने, ‘म हारे पनि देशले जितेको छ। तपाईंको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ। यसैमा खुसी छु । यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ । अब संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु।’ प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै उच्च सराहना गरिन् । सरकारको सफलताका लागि घिसिङले खेलेको प्रभावकारी भूमिकाको पनि प्रशंसा गरिन् ।
‘तपाईंहरु विभिन्न क्षेत्रका विज्ञहरु पार्टीमा हुनुहुँदो रहेछ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस्ता क्रिम अफ द सोसाइटीले मुलुकका निम्ति संसदबाहिरै पनि अझै धेरै काम गर्न सक्छ । एउटै निर्वाचनको नतिजाबाट निरुत्साहित भइहाल्नुहुँदैन । तपाईंहरुले गर्ने काम धेरै छ। अविचलित रुपमा अगाडि बढ्नुहोस् । मेरो शुभकामना छ ।’ पार्टीले प्रधानमन्त्री कार्कीसमक्ष खाडी क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षा तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिकीकरणको माग पनि गरेको छ।
मुलुकको अर्थतन्त्रमा वार्षिक करिब ८ खर्ब रुपैयाँ योगदान गर्ने १८ लाखभन्दा बढी नेपाली कामदार प्रत्यक्ष जोखिममा परेको विषयमा पार्टीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै निर्माण, सेवा, सुरक्षा तथा तेल क्षेत्रमा कार्यरत नेपालीहरूको असुरक्षा बढ्दै गएको छ । साथै, यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु तथा अन्य घाइते भएका घटनामा सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले श्रम स्वीकृति स्थगन, पीडित विवरण संकलन, आपतकालीन टोली गठन तथा कूटनीतिक वार्ता जस्ता कदम चालेको विषय स्वागतयोग्य भएको पार्टीको ठहर छ । पार्टीले खाडी क्षेत्रमा कार्यरत नेपालीको सुरक्षित स्थानान्तरण, उद्धार तथा राहतका लागि डिजिटल ट्र्याकिङयुक्त विस्तृत योजना सार्वजनिक गरी प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ ।
पार्टीले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय श्रम संगठन तथा सम्बन्धित राष्ट्रहरूसँग समन्वय गरी नेपाली नागरिकको जीवनरक्षा तथा क्षेत्रीय शान्तिका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ । यस्तै, प्रभावित नेपालीलाई आर्थिक अनुदान, भर्चुअल मनोसामाजिक परामर्श तथा परिवारसँग नियमित सम्पर्कको व्यवस्था गर्न अपिल गरिएको छ । स्वदेश फर्कन चाहनेका लागि विशेष उडान तथा स्थलमार्गबाट तत्काल उद्धार सुरु गरी उनीहरूको पुनःस्थापनाका लागि राष्ट्रिय रोजगारी पोर्टल सञ्चालन गर्न सरकारलाई भनिएको छ ।
पार्टीले जेन्जी आन्दोलनसँग सम्बन्धित घटनाक्रमको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन नेपाल सरकारसमक्ष बुझाइसकेको अवस्थामा पनि हालसम्म सार्वजनिक नगरिनु गम्भीर चिन्ताको विषय बनेको भन्दै राज्यप्रतिको अविश्वास बढिरहेको बताएको छ । सत्य सार्वजनिक गरेर न्याय, सुधार र सामाजिक विश्वासको मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
