काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा स्थायित्वका लागि आफ्नो पार्टीलाई बहुमत दिन आह्वान गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र चितवन २ का मतदातासँग कुरा गर्दै नेताहरूले गरेको बाचा पूरा नगरेपछि यत्तिकै हाँसेर हिँड्न नपाइने बताए।
उनले आफ्ना मतदातासँग भने, ‘देशका विभिन्न भागमा मैले पुग्नुपर्ने छ, पार्टीको सभापतिको रूपमा मेरा केही दायित्वहरू छन्। यसपटक चितवनलाई मात्र जिताएर भएन, देशै भरिलाई जिताउनु पर्ने अवस्था भएको हुनाले, यसपटक यो २ नम्बर क्षेत्रको चुनावको प्रचारकका रूपमा मैले आफ्नो प्रतिनिधिको रूपमा तपाईँहरूलाई अनुरोध गर्ने विचार गरेको छु।’ उनले आफूहरू एक जना दुईजना मात्र जितेर नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनुपर्ने बताए।
उनले थपे, ‘कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनु पर्ने हुन्छ। पाँच वर्षको स्थायी सरकार यो देशले पाउँछ। त्यसपछाडि पाँच वर्ष गरेको कामले बोल्ने छ, हामीले बोल्नु पर्दैन। यति मात्र मागेका हौँ हामीले, अरू धेरै कुरा केही मागेका छैनौँ। यसका लागि हामी तपाईँको विवेकलाई जिम्मा लगाउँदै छौँ। तपाईँको विचारलाई जिम्मा लगाउँदै छौँ।’ उनले जनताको आदेश मानेर नै नयाँ शक्तिहरू एक ठाउँमा ल्याएर चुनावमा होमिएको बताए।
