काठमाण्डौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा मतदान अवधिभर स्थानीय जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्न प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन्। निर्वाचनको तयारी र जिल्लाको समग्र वस्तुस्थिति बुझ्न गृह सचिव तथा मन्त्रालयका उच्च अधिकारीसहित शनिबार काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका मन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन्।
मन्त्री अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ तत्काल कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिलाई आग्रह गरे। धुलिखेल भ्रमणका क्रममा मन्त्री अर्यालले स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण समेत गरे।
सो क्रममा उनले मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेसँग भेट गरी निर्वाचन तयारीको प्रगतिबारे जानकारी लिए। यसैगरी, काभ्रेका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।
