झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र(५ अहिले देशकै सबैभन्दा धेरै चर्चामा रहेको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहको उम्मेदवारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिमा बहसको केन्द्र बनाइदिएको हो।
दुवै जनालाई आ–आफ्नो दलले भावी प्रधानमन्त्रीका रूपमा उभ्याएर पनि यो क्षेत्र चुनावी चर्चाको केन्द्र बनेको हो। चुनावी रौनक पनि थपिँदै छ। राजनीतिक वृत्तदेखि सामाजिक सञ्जाल, चिया पसलदेखि बौद्धिक बहससम्म अहिले झापा–५ कै चर्चा छ। ‘ओली कि बालेन ? ’ भन्ने प्रश्नले जनमत विभाजित मात्र होइन, उत्साहितसमेत बनाएको छ तर यो क्षेत्रमा अरू प्रतिस्पर्धी पनि गम्भीर ढङ्गले जनमत आफूतिर पार्न उत्रिएका छन्।
यस्तै कारण यो निर्वाचनलाई केवल एक क्षेत्रको प्रतिस्पर्धा मात्र नभई देशको राजनीतिक धार तय गर्ने निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ। एकातर्फ लामो राजनीतिक अनुभव र सङ्गठनात्मक शक्तिमा रहेका ओली र अर्कातर्फ नयाँ पुस्ताको आशा, विद्रोही चेत र सहरी लोकप्रियताको प्रतीक बनेका बालेनबिचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। ओलीले उम्मेदवारी दर्तापछि चार दिन झापा बसेर पार्टी सङ्गठन परिचालन, कार्यकर्ता भेटघाट, चुनावी सभा र घरदैलो कार्यक्रममार्फत जनतामाझ आफ्नो सन्देश पुर्याएका छन्। अर्का प्रतिस्पर्धी शाह पनि उम्मेदवारी दर्तापछि देश दौडाहामा लागेका छन्। अरू धेरै उम्मेदवार भने जनतामाझ पुग्न थालिसकेका छन्।
एमालेले घरदैलो कार्यक्रम र आवश्यक प्रचारप्रसारको काम तीव्र रूपमा अघि बढाइएको पूर्वमन्त्री देवेन्द्र दाहालले जानकारी दिए। दाहालका अनुसार मतदातालाई स्थानीय प्रतिबद्धताबारे जानकारी गराउने, पार्टीका विगतका उपलब्धि र भावी योजना प्रस्तुत गर्ने रणनीति अपनाइएको छ। एमालेले झापा–५ मा आफ्नो परम्परागत मताधार सुरक्षित राख्दै नयाँ मतदाता आकर्षित गर्ने लक्ष्य लिएको जानकारी दिए। रास्वपाका वरिष्ठ नेता रहेका उम्मेदवार बालेन भने दमक–५ मा बनाइएको सम्पर्क कार्यालयमा दुई दिन भेटघाट गरेर फर्किएको रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले बताए। अहिले घरदैलो कार्यक्रमलाई रास्वपाले तीव्र बनाएको उनले जानकारी दिए।
बालेनले अहिलेसम्म ठुला सार्वजनिक सभा, भाषण वा औपचारिक घोषणापत्र सार्वजनिक गर्नुभएको छैन। भेट्न आएकाहरूसँग छोटो संवाद, सुझाव सङ्कलन र फोटो खिच्ने शैलीले उनले ध्यान खिचेका छन्। अब कार्यक्रम तय गरेर आएपछि उनले बोल्ने पनि स्थानीय पार्टी नेतृत्वले जानकारी गराएको छ। सामाजिक सञ्जाल, युवामाझ प्रत्यक्ष संवाद र परिवर्तनको नारालाई मुख्य हतियार बनाउने बालेन पक्षको रणनीति देखिन्छ। ओली र बालेनको उम्मेदवारीले चर्चा पाए पनि झापा–५ मा अन्य २२ जना उम्मेदवार पनि चुनावी अभियानमा सक्रिय छन्। उनीहरु आ–आफ्ना एजेन्डा, विचार र प्रतिबद्धतासहित मतदातामाझ पुग्न थालेका छन्।
नेपाली कांग्रेसबाट मन्धरा पौड्याल उम्मेदवार रहेकी छन्। क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीका अनुसार कांग्रेस अहिले रूपान्तरण भएकाले चुनावी माहोल सकारात्मक छ। भण्डारीले युवा नेता गगन थापा पार्टी सभापति भएपछि सङ्गठन थप सव्रिmय भएको दाबी गरिन्। कांग्रेसले महिला नेतृत्व, सामाजिक न्याय, रोजगारी, शिक्षा र स्वास्थ्यलाई मुख्य मुद्दा बनाएको छ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट उक्त पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङ उम्मेदवार छन्। विद्यार्थी राजनीतिबाट आएका तामाङले युवा आकाङ्क्षा, विचार र वैकल्पिक अर्थनीतिलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले लगातार तीन पटक यो क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवारी नदिएको र यस पटक उम्मेदवार बनेकाले कार्यकर्ता निकै उत्साहित रहेको उम्मेदवार लक्ष्मीप्रसाद सङ्ग्रौलाले बताए। श्रम संस्कृति पार्टीबाट समीर तामाङलगायत झापा–५ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन्। सबै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहनुभएको छ । झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन्। तीमध्ये करिब १० हजार मतदाता नयाँ थपिएका छन्।
