बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचार अभियानका क्रममा नेपालगञ्ज पुगेका छन्। झापाबाट फर्किएका शाह काठमाण्डौहुदैं नेपालगञ्ज विमानस्थल बाहिरिदाँ उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो। विमानस्थलबाट रुफटप कारमा बाहिरिएका साहसँग सेल्फी खिच्न समर्थकहरू उत्साहित देखिन्थे भने उनलाई हेर्न स्थानीय बासिन्दा छतछतमा उभिएका थिए।
विमानस्थलमै उनलाई स्वागत गर्न पार्टीका केन्द्रीय सदस्य खगेन्द्र सुनार पनि उपस्थित थिए। नेपालगञ्जबाट साह सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिमबाट साहनिकट दुई व्यक्तिले उम्मेदवारी दिएका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन्। यी दुई निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर साह सुदूरपश्चिम जाने तयारीमा रहेको बुझिएको छ। सुदूरपश्चिममा केही दिन बिताएपछि साह काठमाडौं फर्किनेछन्।
त्यसपछि उनले काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा पनि चुनावी अभियानमा सहभागी हुने कार्यक्रम तय भएको छ। यस अघि पूर्वी नेपालमा रहँदा पनि बालेनको अघि पछि निकै ठूलो भिड लागेको थियो । बालेन झापा ५ वाट चुनाबी मैदानमा होम्मीएका भएपनि अहिले सुदुरपश्चिमको चुनाबी अभियानमा निस्कीएका हुन् ।
