अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालसालै सार्वजनिक गरेको ३३ पृष्ठको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले रुसलाई विशेष रूपमा कठोर भाषामा उल्लेख नगरेकाले मस्कोले यसलाई सकारात्मक रूपमा स्वागत गरेको छ। रुसले यो रणनीति आफ्नो दृष्टिकोणसँग “लगभग मिल्दोजुल्दो” रहेको प्रतिक्रिया दिएको छ।
दस्तावेजले युरोप ‘सभ्यतागत अस्तित्व’ संकटमा परेको उल्लेख गर्दै रुसलाई अमेरिकाका लागि प्रत्यक्ष खतरा मानिएको छैन। यसमा विदेशी प्रभाव रोक्ने, व्यापक आप्रवासन अन्त्य गर्ने, र इयूको ‘सेन्सरशिप’ जस्ता नीतिको आलोचना गर्ने बिषय समावेश छन्। धेरै युरोपेली विश्लेषकहरूले रणनीतिको भाषा क्रेम्लिनको झैं लागेको टिप्पणी गरेका छन्।
तर रूसी अधिकारीहरू भने यसप्रति प्रशंसात्मक देखिन्छन्। क्रेम्लिनका प्रवक्ता डिमित्री पेस्कोफले ताससँग कुरा गर्दै, “दस्तावेजमा देखिएका परिवर्तनहरू हाम्रो दृष्टिकोणसँग मेल खान्छन्,” भन्दै यसलाई सकारात्मक कदम बताएका छन्। उनले भने दस्तावेजको थप अध्ययनपछि मात्र अन्तिम निष्कर्ष निकालिनेछ।
युरोपेली अधिकारीहरूले रणनीतिमा प्रयोग गरिएको नरम भाषाले युक्रेन युद्धसम्बन्धी युरोपको कडा अडान कमजोर बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। दस्तावेजले अमेरिकाले ‘रुससँग रणनीतिक स्थिरता पुनर्स्थापना गर्नुपर्ने’ उल्लेख गर्दै ‘युरोपेली अर्थतन्त्रहरू स्थिर रहनुपर्ने’ कुरा जोड दिएको छ। इयूका पहलहरूलाई निस्तेज पारिएको आरोप पनि समावेश छ।
‘पश्चिमा पहिचान’ पुनर्स्थापनाको मुद्दा
रणनीतिले ‘पश्चिमा पहिचान’ पुनर्स्थापनालाई प्रमुख एजेन्डा बनाएको छ। दस्तावेजमा आगामी ‘२० वर्ष वा अझ कम समयमा’ युरोप चिन्नै नसकिने अवस्थामा पुग्न सक्ने चेतावनी दिइएको छ। आर्थिक मुद्दाहरू सभ्यतागत अस्तित्वका जोखिमसँग तुलना गर्दै ओझेलमा परेको भनिएको छ।
दस्तावेजले केही युरोपेली मुलुकमा भविष्यमा भरपर्दो आर्थिक वा सैन्य क्षमता नै नहुन सक्ने कुरा भनेको छ। साथै देशभक्त–राष्ट्रवादी दलहरूको उदयको प्रशंसा गर्दै अमेरिकाले आफ्ना राजनीतिक साझेदारमार्फत युरोपमा यस्तो पुनर्स्थापनालाई अघि बढाउन चाहेको छ।
उता, युरोपेली अधिकारीहरूले भने अमेरिका–युरोप साझेदारी दीर्घकालीन रूपमा सुरक्षा नीतिसँग गाँसिएको भन्दै महत्व दोहोर्याएका छन्। जर्मन विदेशमन्त्री योहान वाडफुलका अनुसार उक्त रणनीतिमा अभिव्यक्ति स्वतन्त्रता वा स्वतन्त्र समाजसँग सम्बन्धित विषय अपेक्षा अनुसार समावेश छैनन्।
पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टुस्कले सामाजिक सञ्जालमार्फत अमेरिकालाई सम्झाउँदै युरोप नै यसको ‘सबैभन्दा नजिकको साझेदार’ भएको बताएका छन्। स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल बिल्टले रणनीतिले अमेरिकालाई ‘अति दक्षिणपन्थी भन्दा अझ दक्षिणतिर’ सारिदिएको टिप्पणी गरेका छन्।
‘अमेरिका पहिले’ नीतिअनुसार अमेरिकाले जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र ताइवानलाई आफ्नो सुरक्षामा थप खर्च बढाउन आग्रह गरेको छ। यसबीच, डेमोक्र्याट नेताहरूले नयाँ रणनीतिले अमेरिकाको कूटनीतिक सम्बन्ध दुर्बल बनाउने चेतावनी दिएका छन्।
