नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सभापति पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्। पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै उनले सभापति बन्ने आकांक्षा सार्वजनिक गरेका हुन्।
मंसिर १५ गते केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका स्वीकृत भएपछि थापाले आफू सभापतिका लागि उम्मेदवार बन्ने निर्णय स्पष्ट रूपमा बताएका हुन्। हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रममा पत्रकार निमेष बञ्जाडेसँगको अन्तर्वार्तामा उनले भने, “म १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो।”
थापाले कांग्रेसभित्र ठूलो समर्थन रहेको दाबी गर्दै थपे, “मलाई विश्वास छ नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औँ महाधिवेशनबाट यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी ममाथि विश्वासपूर्वक दिनेछन्।”
