नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधि चयन अन्तिम चरणमा पुगेको छ। यससँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा आकांक्षीहरू खुल्न थालेका छन्। तर अध्यक्ष ओली भने पार्टीभित्र प्रतिस्पर्धा बढ्न नदिन सक्रिय देखिएका छन्। भक्तपुरको गुन्डुस्थित आफ्नै नयाँ निवासमा बसेर ओलीले केन्द्रीय सदस्यहरूलाई आगामी महाधिवेशनका पदाधिकारीहरूको सूची आफैँ तयार पार्ने बताएका छन्। उनले सम्भावित ध्रुवीकरण रोक्न र उम्मेदवारी व्यवस्थापन गर्न यसपटक पनि ‘एकीकृत सूची’ नै प्रस्तुत गर्ने संकेत गरेका हुन्।
गण्डकी प्रदेशका केही केन्द्रीय सदस्यहरू मंगलबार गुन्डु पुगेर ओलीसँग भेट गरेका थिए। भेटमा सहभागी एक नेताका अनुसार, ओलीले सबैको भावना प्रतिनिधित्व हुनेगरी सूची आफैँ बनाउने र सबैले त्यही सूचीमा मतदान गर्नुपर्ने बताएका छन्।
उनले भनेका थिए, “कतिपयले मलाई मात्रै भोट हाल्ने कुरा आएका छन्, तर भोट सबैलाई हाल्नुपर्छ। म सूची बनाउँछु, सबैले त्यहीँ मत हाल्ने हो। मलाई मात्रै हाल्ने सोच बनाएको हो भने मलाई पनि हाल्नु पर्दैन।”
भक्तपुरमा उद्घाटन सत्र र भृकुटीमण्डपमा बन्द सत्र हुने एघारौँ महाधिवेशनमा ओली पुनः अध्यक्षमा निरन्तरता चाहन्छन्, भने उनलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले खुला चुनौती दिन लागेका छन्। पोखरेल छिट्टै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गर्ने तयारीमा छन्।
महाधिवेशनका अन्य पदमा भने प्रतिस्पर्धा अझै खुलिसकेको छैन। महासचिवका लागि तीन आकांक्षी शंकर पोखरेल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवाली अध्यक्ष ओलीसमक्ष दाबी गरिसकेका छन्। उपाध्यक्ष विष्णु पौडेलले पनि महासचिवको आकांक्षा देखाएका छन्, जसका कारण महासचिव पद ओली समूहमै पेचिलो बनेको छ।
उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे पोखरेल पक्षमा खुलेकाले सो पदमा व्यवस्थापन सहज देखिए पनि पदाधिकारी संख्या १९ बाट १५ मा झरेपछि अन्य पदमा आकांक्षी सम्हाल्न ओलीलाई चुनौती बढेको छ।
देशभर प्रतिनिधि चयन लगभग टुंगिएको छ। करिब १७०० प्रतिनिधि छानिएका छन्, तर दाङ, ओखलढुंगा र सल्यानमा विवादले तातेको छ। ओखलढुंगा पोखरेलको पुर्ख्यौली आधार क्षेत्र भएकाले त्यहाँको विवाद विशेष संवेदनशील बनेको छ। दाङ शंकर पोखरेलको गृह जिल्ला भएकाले त्यहाँको विवाद पनि चर्चामा छ।
गण्डकी र लुम्बिनी प्रदेशमा ओलीप्रति असन्तुष्टि खुलेको छ। गण्डकीमा गुरूङ र खगराज अधिकारीबीचको प्रतिस्पर्धा तीव्र छ खगराज पक्ष ओलीको कट्टर समर्थक भए पनि गुरूङ पक्षका केही प्रतिनिधि केन्द्रमा ओलीलाई भोट नहाल्न सक्ने संकेत देखिन्छ।
गुन्डु पुगेका एक नेताले भने, “अध्यक्षमा ओलीलाई मत हाले पनि पदाधिकारीमा मत छिरलिन सक्छ। ओलीले सूची बनाउने भनेको यही जोखिम रोक्नका लागि हो।”
