काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध भएकी छन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा आज उम्मेदवारी दर्ताको तालिका थियो । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो ।
निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले जानकारी दिएका छन् । योसँगै न्यौपाने सभापतिमा सवर्मसम्मत भएकी हुन् । राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दैछ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ ।
न्यौपाने यसअघि संसदीय सुनुवाइ समितिको सभापति थिइन् । कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने भनेपछि न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिइन् । उनले आजै सभामुख समक्ष राजीनामा दिएकी हुन् । सुनुवाइ समितिबाट राजीनामा दिए लगत्तै राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिइन् । जहाँ अनय कुनै पनि उम्मेदवारी परेको छैन । यो सँगै उनी राजय व्यवस्था समितिको सभापतिमा सर्वसम्मत भएकी हुन् ।