काठमाडौँ — उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली कांग्रेस र नेकपा ( nएमाले ) हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाए ।
उनले सरकारको तर्फबाट नै सम्मानित संसद् र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गरे । उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गरे । लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उनको भनाइ थियो ।
परियारले नेपाली कांग्रेसलाई बीपी कोइरालाको आदर्श स्मरण गर्न तथा एमालेका नेताहरूलाई सामन्तवादविरुद्ध मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गरे । उपसभामुखको पदमा रहेकी जनजाति महिलाप्रति देखिएको असम्मानको आलोचना गर्दै सांसदहरूको विवेकलाई बन्धक नबनाउन चेतावनी पनि दिए ।
उनले भने, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रदर्शन भयो, त्यसले सम्मानित सदनलाई चोट पुर्याएको छ, सभामुख महोदय । लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको उपसभामुख जस्तो जिम्मेवार पदमाथि जुन तहको अपमूल्यन भएको छ, यो लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो भन्ने हाम्रो पार्टीको ठम्याइ हो, सभामुख महोदय ।’