काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सत्तारुढ गठबन्धन दलको बैठक बोलाइएको छ । बैठकमा सहभागी हुन नेताहरु पुग्ने क्रम जारी रहेको छ । बैठकमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि अध्यक्ष रञ्जिता श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवलगायत सिंहदरबारमा पुगिसकेका छन् । त्यस्तै, सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पनि बैठकमा सहभागी हुन सिंहदरबार पुगेका छन् ।
सत्तारुढ दल कांग्रेस–एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउन आ–आफ्ना दलका सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । सरकारलाई समर्थन गरेका र सरकारमा सहभागी साना दलको पनि सहयोगका लागि सत्ता गठबन्धन दलको बैठक बोलाइएको बताइएको छ ।
यद्यपि, जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा छैन । त्यस्तै, नाउपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिइएको भए पनि नाउपाबाट राज्यमन्त्री बनेका अरुणकुमार चौधरीले अझै राजीनामा दिएका छैनन् ।नाउपा र जसपा नेपाल दुवैले सरकारलाई समर्थन नगर्ने हो भने उपसभामुख रानाविरुद्ध पेश हुने महाअभियोगको प्रस्ताव असफल हुने खतरा छ ।