काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालीलाई बाध्यताले विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बडादसैँको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले देशको समृद्धि र नागरिकको सुखद जीविकाका लागि सरकार अघि बढिरहेको बताएका हुन्। प्रधानमन्त्री शाहले आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उल्लेख गर्दै नागरिकको आर्थिक सम्पन्नताले नै चाडपर्वको रौनक बढाउने बताए।
दसैँ पारिवारिक मिलन, आत्मीयता र सामाजिक एकताको पर्व भए पनि पछिल्लो समय गाउँका घरआँगन रित्तिँदै गएको उनले बताएका छन्। बाध्यताले विदेशिनुपर्ने र चाडपर्वमा समेत परिवारसँग भेट हुन नसक्ने लाखौँ नेपालीको अवस्था बदल्न सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ। ‘सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु,’ उनले सन्देशमा भनेका छन्।
प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएको विनाशप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको पनि बताएका छन्। उनले दसैँलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै समाजमा रहेका विकृति र आसुरी प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। काम, क्रोध, लोभ, ईर्ष्या र अहंकारमाथि विजय प्राप्त गर्न पनि उनले सबैलाई शुभकामना दिएका छन्।
दसैँले देशभित्र र विदेशमा रहेका नेपालीलाई एकताबद्ध गर्दै हरेक घरमा खुसी, उमङ्ग र उत्साह ल्याओस् भन्ने कामना गर्दै प्रधानमन्त्री शाहले सुशासन, आर्थिक समृद्धि र नागरिकको सुखका लागि सरकार निरन्तर क्रियाशील रहने बताएका छन्। उनले सम्पूर्ण नेपालीमा आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सभ्य र भव्य रूपमा बडादसैँ मनाउन आग्रह गरेका छन्।
