काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार संघाई कोअपरेशन अर्गानाइजेशमा भाग लिन भदौ १४ गते चीन भ्रमणमा जाने भएका हुन्। उनी सो कार्यक्रममा भाग लिएर भदौ १८ गते फर्कने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनपिङले उद्घाटन गर्ने सो कार्यक्रममा विश्वभरका दुई दर्जन राष्ट्र प्रमुखहरू सहभागी हुने बताइएको छ।
‘प्रधामन्त्रीज्यू ३० अगष्टमा चीन जानु हुने छ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने। उनी चीनबाट फर्केपछि लगत्तै भारत भ्रमणमा जाने छन्।प्रधानमन्त्रीको भारत भ्रमणको निम्तो लिएर भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदै छन्। उनी भदौ १ गते भारत भ्रमणको निमन्त्रणा लिएर काठमाडौं आउन लागेका हुन्। प्रधानमन्त्री नियुक्त भएको १२ महिनापछि ओली भारत भ्रमणमा जान लागेका हुन्।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली र त्यहाँका राष्ट्रपति सी चिनफिङ बिच भेटवार्ता हुने तय भएको छ । ओली र सीबिच सेप्टेम्बर ३ मा भेटघाट हुने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जनाएको छ । सोही कार्यक्रममा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदैछन् । त्यहाँ मोदीसँग पनि प्रधानमन्त्री अोलीको भेटघाट हुने सम्भावना रहेको स्रोतले जनाएको छ । तर अझै त्यसको कार्यतालिका तय भइनसकेको बताइएको छ ।
त्यहाँ अन्य देशका प्रधानमन्त्रीहरू पनि आउने छन् । ओलीसँग विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि साइडलाइन भेटवार्ता हुने बताइएको छ । सम्मेलनमा आउने विदेशी प्रतिनिधिहरूका लागि राष्ट्रपति सीले सेप्टेम्बर ३ मा दिवा भोजको आयोजना गर्ने जनाइएको छ ।