काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले असार २३ गते अर्यालसहित ती जनाको नाम सिफारिस गरेको थियो । समितिले अर्यालसहित हालका निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्व डीन प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो । ओलीले जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख समेत रहेका अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
उपकुलपति प्रा।डा।केशरजङ्ग बरालले राजीनामा दिएपछि केसीलाई तीन महिनाको लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । बरालले दिएको राजीनामा ओलीले गत चैत २८ गते स्वीकृति गरेका थिए । वर्तमान सरकार तथा पदाधिकारीहरूबाट काम गर्न गाह्रो भएको भन्दै बरालले राजीनामा दिएर पोखरा हिँडेका थिए ।