काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ( नाउपा ) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । समर्थन फिर्ताको निर्णय आज संसद् सचिवालयका दर्ता गराउने तयारी भइरहेको संसदीय दलका नेता गङ्गा चौधरीले जानकारी दिए । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको भन्दै अब पार्टी प्रतिपक्षमा बस्ने जानकारी गराइन् ।
उनले आजै राज्यमन्त्री चौधरीले राजीनामा बुझाउने समेत बताइन् । ‘हिजो समर्थन फिर्ता लिएको विषय आज औपचारिक रूपमा संसद् सचिवालयका दर्ता हुन्छ’ उनले भनिन् ‘त्यसपछि हामी प्रतिपक्षमा बस्छौ । हाम्रो मन्त्री ज्यूले आजै राजीनामा दिनुहुन्छ ।’ भोलि प्रतिनिधि सभाको बैठक छ । उक्त बैठकमा नाउपा प्रतिपक्षमा बस्ने गरी आज सभामुखलाई जानकारी गराइने उनले बताइन् ।
बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले सङ्घ र प्रदेशमा आफ्नो समर्थन फिर्ता लिने घोषणा गरेको थियो । मन्त्री चौधरीमाथि आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले छानबिन गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेशका शुक्रवार समर्थन फिर्ता लिएको नाउपाले शनिवार सङ्घीय सरकारबाट बाहिरिने निर्णय गरेको हो । लुम्बिनी प्रदेशमा भने अझै समर्थन फिर्ता लिने निर्णय भएको छैन। सङ्घ र प्रदेशमा नाउपाले समर्थन फिर्ता लिँदैमा सरकारमा तत्काल असर पर्ने देखिँदैन ।
अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार नाउपाबाट राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले राजीनामा दिने तयारी रहेको छ । आगामी २३ गतेको संसद् बैठकमा आफूहरु प्रतिपक्षमा बस्नेत अध्यक्ष श्रेष्ठले बताईन् । सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीको मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा बिच्किएको हो ।