काठमाण्डौं । सुनचाँदी व्यवसायीहरुले सडकमा विरोध प्रदर्शन गरेका छन्। सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र अन्य बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर ( भ्याट ) को विरोध गर्दै व्यवसायीहरुले शुक्रबार र्याली निकालेका हुन्। उनीहरुले सुनचाँदी कारोबारको प्रस्ट नीति नियमावली ल्याउन, सुनको भन्सारदर ६ प्रतिशत कायम गर्न समेत माग गरेका छन्।
सुनचाँदी व्यवसायीहरुले माइतीघर, बबरमहल हुँदै बानेश्वरसम्म र्याली निकालेका थिए। सरकारले नयाँ बजेटमार्फत करको व्यवस्था गरेको थियो। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भने नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ०को ग्रे लिस्टमा परेकाले त्यसबाट बाहिरिने तयारीस्वरुप यस्तो व्यवस्था गरेको बताउँदै आएका छन्। उनले सुनचाँदी र बहुमूल्य धातुको कारोबारलाई पारदर्शी बनाउन कर व्यवस्था गरेको बताइरहेका छन्। व्यवसायीसँग यसबारे छलफल जारी रहेको समेत उनले बताएका छन्।
सुनचाँदी व्यवसायीले पोखरामा पनि विरोध प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्ष २०८२८३ को बजेटमा सरकारले सुनचाँदीमा ‘विलासी कर’ लगाएको भन्दै छाता ओढेरै नाराबाजीसहित शुक्रबार व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज, सुनको भन्सार ६ प्रतिशत कायम र सुनचाँदी कारोबारको लागि प्रस्ट नीति,नियमावली निर्माण गर्न माग गरेका छन् । पोखराको पृथ्वीचोकबाट सुरु भएको विरोध र्याली सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।