नवलपुर ( नवलपरासी ) । माओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको बताएका छन् । सोमबार साँझ नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) को गैँडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले झापादेखि नवलपुरसम्म आउँदा माओवादी केन्द्रलाई जनताले भरोसा गरेको अनुभूति भएको बताएका हुन् ।
अध्यक्ष दाहालले अहिले देशको राजनीति असहज अवस्थाबाट गुज्रिएकाले यसलाई सहज परिस्थिति बनाउन थुप्रै खबरदारी अभियान गरिएको उल्लेख गरे । माओवादीले झापाबाट सुरु गरेको अभियान कञ्चनपुरसम्म पुग्ने भएकाले हालसम्म लाखौँ जनताको सहभागिता रहेको उनको दाबी छ ।
अभियानका क्रममा मैले सहिद, बेपत्ता, योद्धा परिवार, गरिब, मजदुर, किसानहरुको कुरा नजिकबाट सुन्ने अवसर पाएको छु, उनले भने, यस अवसरमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम थारु समुदायको अहिलेको चाहना र आवश्यकतालाई नजिकबाट बुझ्ने कोसिस गरेको छु । जनताकै घरमा बसेर जनताको कुरा जनताकै मुखबाट सुन्ने कोसिस गर्दा माओवादी राष्ट्रप्रति गम्भीर, जनताप्रति इमानदार, परिवर्तनप्रति संवेदनशील र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिप्रति समर्पित पार्टी हो भन्ने कुरा जनताले बुझ्ने अवसर पाएका उनको भनाइ छ ।