काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषय, आगामी निर्वाचन र सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको हो ।
लामिछानेको सचिवालयका अनुसार दुई नेताबिच करिब पाँच घण्टा आत्मीय र सौहार्दपूर्ण कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । सो क्रममा भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे पनि छलफल भएको सभापतिको सचिवालयले जनाएको छ ।
त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारी, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियान तथा मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीका विषयमा पनि दुई नेताबिच कुराकानी भएको थियो । भेटमा सरकारले ल्याउन लागेको अध्यादेश र आगामी संसद् अधिवेशनका सन्दर्भमा समेत छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।
