काठमाण्डौं । अमेरिकाको मध्यावधि निर्वाचनमा उल्लेखनीय जित हासिल गरेपछि डेमोक्र्याटिक पार्टीले आगामी जनवरीदेखि संसद्का दुवै सदनमा नियन्त्रण कायम गर्ने भएको छ । यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालमा उनको प्रशासनमाथि संसदीय निगरानी र राजनीतिक दबाब बढ्ने देखिएको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट प्रतिनिधिसभाका नेता हाकिम जेफ्रिजले यसलाई ‘अमेरिकाको महान् पुनरागमनको सुरुवात’ भनेका छन् ।
चुनावी अभियानका क्रममा डेमोक्र्याटहरूले सरकारी भ्रष्टाचारको अनुसन्धान गर्ने, स्वास्थ्य सेवा, खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्य घटाउने तथा इरानसँगको युद्ध अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अब उनीहरूलाई ती प्रतिबद्धता कार्यान्वयन गर्ने चुनौती छ । तर संसद्का दुवै सदनमा बहुमत हासिल गर्दैमा डेमोक्र्याटहरूले चाहेका सबै योजना तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था छैन । ह्वाइट हाउसमा रिपब्लिकन राष्ट्रपति ट्रम्प रहेकाले संसद्बाट पारित भएका विधेयकसमेत उनले अस्वीकार गर्न सक्छन् ।
अमेरिकी सिनेटर क्रिस कुन्सले बीबीसीसँग कुरा गर्दै निर्वाचन परिणामलाई आफ्नो पार्टीका लागि जनताको पूर्ण समर्थन अर्थात् ‘म्यान्डेट’ का रूपमा बुझ्न नहुने बताएका छन् । उनका अनुसार डेमोक्र्याटिक पार्टी अझै पनि जनतामाझ अलोकप्रिय छ । ‘हामीले काम गरेर देखाउनुपर्छ । विशेषगरी न्यून ज्याला र बढ्दो महँगीका विषयमा जनताका प्रश्न र चिन्ताको समाधान दिन सक्नुपर्छ,’ उनले भने ।
ट्रम्प प्रशासनमाथि अनुसन्धान गर्न सक्ने
कंग्रेसका दुवै सदनमा बहुमत पाएपछि डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्प र उनको प्रशासनमाथि संसदीय निगरानी तथा अनुसन्धानलाई तीव्र बनाउन सक्नेछन् । क्यालिफोर्नियाका सांसद रोबर्ट गार्सियाले प्रतिनिधिसभाको महत्त्वपूर्ण निगरानी समितिको नेतृत्व गर्नेछन् । उक्त समितिसँग सरकारी निकाय, राष्ट्रपति र उनको प्रशासनसँग सम्बन्धित विषयमा अनुसन्धान गर्ने अधिकार हुन्छ ।
निर्वाचनमा डेमोक्र्याटहरूको जित सुनिश्चित हुँदै गर्दा गार्सियाले सम्भावित अनुसन्धानका विषय सार्वजनिक गरेका थिए । त्यसमा ट्रम्पको परिवार, कर्पोरेट क्षेत्रको भ्रष्टाचार, गृह सुरक्षा मन्त्रालय र अध्यागमन तथा भन्सार कार्यान्वयन निकाय ९आइस० माथि लागेका दुरुपयोगका आरोप तथा जेफ्री एप्स्टिनसम्बन्धी सरकारी दस्ताबेजको व्यवस्थापनलगायत विषय छन् ।
कंग्रेसका समितिहरूले अनुसन्धानका क्रममा सम्बन्धित अधिकारीहरूलाई बोलाएर बयान लिन र आवश्यक दस्ताबेज माग गर्न सक्छन् । यसले ट्रम्प प्रशासनलाई आगामी दुई वर्ष संसदीय प्रश्न र छानबिनको सामना गर्नुपर्ने अवस्था सिर्जना गर्न सक्छ । गार्सियाले सम्भावित अनुसन्धानबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘वकिल तयार राख्नुहोस् ।’
न्यायाधीश र मन्त्री नियुक्तिमा सिनेटको भूमिका
डेमोक्र्याटहरूले सिनेटमा नियन्त्रण पाएपछि राष्ट्रपति ट्रम्पका मन्त्री तथा संघीय न्यायाधीश नियुक्तिसम्बन्धी निर्णयमा पनि प्रभाव पार्न सक्नेछन् । अमेरिकी संविधानअनुसार राष्ट्रपतिले प्रस्ताव गरेका मन्त्रिपरिषद्का सदस्य र संघीय न्यायाधीशहरूको नियुक्ति सिनेटबाट अनुमोदित हुनुपर्छ । त्यसैले ट्रम्पको कार्यकालमा अमेरिकी सर्वोच्च अदालतमा कुनै पद रिक्त भएमा डेमोक्र्याटहरूले उनको प्रस्तावित उम्मेदवार अस्वीकार गर्न सक्छन् । अथवा द्विदलीय समर्थन प्राप्त गर्न सक्ने तुलनात्मक रूपमा मध्यमार्गी उम्मेदवार छनोट गर्न राष्ट्रपतिमाथि दबाब दिन सक्छन् ।
ट्रम्पविरुद्ध महाभियोगको सम्भावना
प्रतिनिधिसभासँग राष्ट्रपतिविरुद्ध महाभियोग प्रक्रिया सुरु गर्ने अधिकार पनि छ । डेमोक्र्याटहरूले ट्रम्पको पहिलो कार्यकालमा दुईपटक महाभियोग प्रस्ताव पारित गरेका थिए । तर दुवैपटक सिनेटले उनलाई दोषी ठहर नगरी सफाइ दिएको थियो ।
राष्ट्रपतिको भिटो असफल बनाउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक हुन्छ । डेमोक्र्याटहरूसँग त्यस्तो बहुमत छैन । निर्वाचनमा आफ्नो पार्टीले सिनेटका विभिन्न सिट गुमाउँदै गएपछि राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै डेमोक्र्याटहरूसँग सहकार्य गर्ने बताएका थिए ।
महाभियोगबाट राष्ट्रपतिलाई पदमुक्त गर्न सिनेटमा दुईतिहाइ अर्थात् ६७ मत आवश्यक पर्छ । त्यसैले प्रतिनिधिसभामा बहुमत भए पनि डेमोक्र्याटहरूका लागि ट्रम्पलाई पदबाट हटाउने प्रक्रिया सफल बनाउनु कठिन हुनेछ ।
त्यसबाहेक, ट्रम्पविरुद्ध फेरि महाभियोग प्रक्रिया अघि बढाउने कि नबढाउने भन्ने विषयमा डेमोक्र्याटिक पार्टीभित्रै मतभेद छ । सन् २०१९ मा पहिलो महाभियोग प्रक्रियाले अमेरिकी राजनीतिमा तीव्र ध्रुवीकरण निम्त्याएको थियो । ट्रम्पले आफूलाई राजनीतिक प्रतिशोधको सिकारका रूपमा प्रस्तुत गरेका थिए, जसले उनको दोस्रो पटक राष्ट्रपति बन्ने अभियानमा समर्थन जुटाउन सहयोग गरेको विश्लेषण गरिएको थियो । प्रतिनिधिसभाका नेता जेफ्रिजले महाभियोगबारे आफ्नो धारणा स्पष्ट पारेका छैनन् ।
