काठमाडौँ । गएराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षा चुनौती भएपछि कार्यालयमा’ ल्याइएको प्रहरीले दाबी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई सुरक्षा चुनौती महसुस भएपछि ल्याइएको बताए । उनले भने, ‘उहाँ सुरक्षित ठाउँमा बसिरहनु भएको छ ।’ के कारण उनलाई सुरक्षा चुनौती भयो भन्ने चाहिँ उनले खुलाएनन् ।
पूर्वप्रधानन्यायाधीशलाई आजै छाडिन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘छुट्नुहुन्छ, मुद्दा चल्ने वा त्यस्तो केही होइन ।’ यसअघि प्रहरी उच्च स्रोतले महाराजगञ्जस्थित निवासबाटै जबरालाई पक्राउ गरिएको जानकारी दिएको थियो । महाराजगञ्जस्थित निवासमा जबरा सुतिरहेका बेला उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । र, उनलाई आफूहरुसँगै प्रहरी कार्यालयमा हिँड्न भनिएको थियो । उनलाई पक्राउ पूर्जीसमेत दिइएको थिएन ।
बिहान ३ बजे घरबाट उनलाई प्रहरी कार्यालयमा ल्याएपछि उनलाई पक्राउ गरिएको विवरण प्रहरीबाटै सार्वजनिक भएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार पक्राउ गरेको हो । उनी १७ पुस २०७५ मा प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।
महाअभियोग लामो समयसम्म संसद्मा अलपत्र भएको थियो । संसद्को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेखेका थिए । संसद् सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । २४ भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो । प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वको संवैधानिक इजलासले यससम्बन्धी चार वटा रिट खारेज हुने फैसला सुनाएको थियो ।
