काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकासहित कोशी र बागमती प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ। धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका–१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरुपमा अबरुद्ध भएको हो।
बेनीघाट रोराङ गाउँपालिका–७ का अध्यक्ष कुमार बस्नेतका अनुसार अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकोले कृष्णभिरमा पूर्णरूपमा सडक अवरुद्ध रहेको छ। ‘नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट वर्षाका कारण लेदोसहितको पहिरो खसिरहेको छ। लेदोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा बन्द छ। गाडी चलाउन सक्ने अवस्था छैन।’ उनले भने। प्रहरीका अनुसार अन्य विभिन्न स्थानमा पनि स–साना पहिरो खसेको र ती ठाउँहरूमा सडक एकतर्फी सञ्चालनमा रहेका छन्।
यसैगरी, अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ। लेदो सहितको पहिरो नाम्सी खोला पुलमाथि खस्दा आइतबार बिहान ७ः५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ। पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ।
त्यस्तै, बाढी पहिरोका कारण प्रमुख राजमार्ग तथा भित्री सडक खण्डमा अवरुद्ध गरेपछि कतिपय स्थानमा पूर्णरूपमा यातायात ठप्प भएका छन्। कान्तिलोकपथ सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–३ को भट्टेडाँडा, पाङदुर र टाकुर्च क्षेत्रमा पहिरो गएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन आवतजावत गर्न सकेका छैनन्।
यसैगरी खोटाङको हलेसीतुवाचुङ नगरपालिका–१ कदुवामा मध्यपहाडी सडक बाढी तथा पहिरोका कारण अवरुद्ध भएको छ। पाँचथरमा पनि बाढी र पहिरोले प्रमुख सडक प्रभावित भएको छ। तुम्बेवा गाउँपालिका–२ स्थित नावाखोलामा तमोर करिडोर तथा याङवरक गाउँपालिका–२ को दोभाने खोलामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
वर्षाका कारण कोशी प्रदेशका अन्य जिल्लामा समेत सडक सुरक्षालाई लिएर सतर्कता बढाइएको छ। सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ, उदयपुरलगायत जिल्लाका विभिन्न राजमार्ग तथा सडकखण्डमा बाढी र पहिरोको जोखिम बढेको छ। सम्भावित दुर्घटना तथा थप क्षति रोक्न जोखिमयुक्त सडकमा निश्चित समयका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। विशेषगरी रातिको समयमा जोखिमयुक्त सडकखण्डमा आवागमन नियन्त्रण गरिएको छ।
लगातारको वर्षा भइरहेकाले अवरुद्ध सडक खुलाउन तथा जोखिमयुक्त क्षेत्रमा क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायले आवश्यक तयारी गरिरहेका छन्। सडकको अवस्था यकिन नभएका क्षेत्रमा यात्रुलाई सावधानी अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनाअनुसार मात्रै यात्रा गर्न आग्रह गरिएको छ।
