काठमाडौँ । वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डितले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहको उपस्थिति र सम्बोधन ऐतिहासिक एवं प्रभावकारी रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अधिवक्ता पण्डितले जलवायु परिवर्तन, हिमताल पग्लने समस्या, हिमपहिरो र भोटेकोशी विपद् जस्ता नेपालले प्रत्यक्ष भोगिरहेका गम्भीर समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले सशक्त रूपमा उठाएको बताए ।
“विकसित देशहरूले कार्बन उत्सर्जन गर्दा जलवायु परिवर्तन भई हाम्रा हिमाल पग्लेका छन् । हामीले एक प्रतिशत पनि कार्बन उत्सर्जन नगरे पनि क्षति भोग्नु परेको विषयलाई प्रधानमन्त्रीले ‘नखाएको विष लाग्यो’ भन्ने शैलीमा स्पष्ट पार्नुभयो, जुन निकै सकारात्मक छ,” पण्डितले भने, “अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘न्यूयोर्क टाइम्स’ ले समेत नेपालजस्तो सानो देशका तर्फबाट गएका प्रधानमन्त्रीको भनाइलाई विशेष महत्त्वका साथ स्थान दिएको छ ।”
नेपाल कुनै भिक्षा माग्न राष्ट्रसंघ नगएको उल्लेख गर्दै उनले जलवायु विपद् रोक्न वैज्ञानिक अनुसन्धान हुनुपर्ने र भारत, चीन र नेपालबीच सूचना आदानप्रदानका लागि अन्तर्राष्ट्रिय संयन्त्र बनाएर सहकार्य गर्नुपर्ने प्रधानमन्त्री बालेनको प्रस्ताव दूरदर्शी रहेको दाबी गरे । तामझाम नगरी राष्ट्रसंघ पुगेर विश्वको ध्यान नेपालतर्फ खिच्न सफल हुनु नयाँ पुस्ताको काम गर्ने शैलीको उदाहरण भएको पण्डितको भनाइ थियो ।
सोही कार्यक्रममा अदालतसँग सम्बन्धित विषयमा सोधिएको प्रश्नमा वरिष्ठ अधिवक्ता पण्डितले न्यायपालिकाको अस्मिता, इज्जत र प्रतिष्ठा कायम राख्नुपर्नेमा जोड दिए । उनले न्यायपालिकाको गरिमा जोगाउनका लागि न्यायाधीश नियुक्ति गर्ने मुख्य निकाय न्यायपरिषद्को संरचनामा भने आमूल परिवर्तन आवश्यक रहेको औँल्याए ।
