काठमाडौँ । भोटेकोशीमा आएको हिमबाढीमा परी घरबार, परिवार र आफन्त गुमाएकाहरू मानसिक तनावमा पर्न थालेपछि सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा पीडितको आत्मबल उच्च पार्ने उद्देश्यले मनोपरामर्श सेवालाई तीव्र पारिएको छ । होल्डिङ सेन्टर’ मा राखिएका पीडितलाई स्थानीय तहको समन्वयमा सङ्घीय सरकार, प्रदेश सरकार र विभिन्न सङ्घ संस्थाबाट खटिएका व्यक्तिबाट मनोपरामर्श सेवा सुरु गरिएको छ ।
बाढी प्रभावित बेपत्ता तथा मृतकका आफन्तमा एकोहोरिने, टोलाउने, एक्लै बस्न खोज्ने, राति ननिदाउने, खाना खान मन नगर्नेलगायतका समस्या देखिन थालेपछि मनोपरामर्श सेवा तीव्र पारिएको हो । काठमाडौँ, रसुवा र नुवाकोटका विभिन्न ३२ स्थानमा ‘होल्डिङ सेन्टर’ राखिएका छन् ।
रसुवाको उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीले बाढी प्रभावितका लागि गाउँपालिकाको समन्वयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफन्त र घरबार गुमाएका व्यक्तिलाई मानसिक रूपमा साबिककै अवस्थामा फर्काउन कठिन छ तर पनि उहाँहरूलाई बाढीको पीडा बिर्साउने गरी मनोपरामर्श सेवा प्रदान गरिएको छ ।”
उप्रेतीले भन्नुभयो, “सर्वस्व गुमाएर तनावमा परेका पीडितका लागि मनोबल उच्च पार्ने दायित्व तीन वटै तहका सरकारको हो । सरकारले प्रदान गर्ने आत्मबलले पीडितलाई नयाँ जीवन दिएको महसुस हुन्छ । त्यही भएर अहिले तीन वटै तहका सरकारको समन्वयमा मनोपरामर्श सेवा सञ्चालन भइरहेको छ ।”
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले विभिन्न सङ्घ संस्थाबाट आएका मनोसामाजिक परामर्शविद्हरूले सबै ‘होल्डिङ सेन्टर’ मा राखिएका बाढीपीडितलाई मनोपरामर्श सेवा प्रदान गरिरहेका जानकारी दिनुभयो ।
नुवाकोटमा पूर्ण र आंशिक गरी बाढी प्रभावित घरधुरीको सङ्ख्या एक हजार ९०५ रहेको छ । बाढी प्रभावितलाई नेपाली सेनाको मेडिकल टोलीले मनोसामाजिक परामर्श सेवा र सम्भावित रोगको सङ्क्रमण हुन नदिन रोकथामका कार्यबारे परामर्श दिइरहेको छ । त्यस्तै सशस्त्र प्रहरी बलका विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले चौबिसै घण्टा आवश्यक स्वास्थ्यसेवा प्रदान गरिरहेका छन् । शुक्रबार साँझसम्म ‘होल्डिङ सेन्टर’ मा राखिएका तीन हजार २० जना बाढी प्रभावितको स्वास्थ्य परीक्षण भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
काठमाडौँमा पनि मनोपरामर्श
काठमाडौँ महानगरपालिकाले बाढीबाट प्रभावित व्यक्तिलाई मनोपरामर्शका साथै आवश्यक स्वास्थ्यसेवा प्रदान गरिरहेको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीका अनुसार महानगरपालिका–२७ को एल्लो प्यागोडा र नागार्जुनको एल्लो गुम्बामा रहेका बाढी प्रभावितलाई मनोपरामर्श सेवा प्रदान गरिएको छ । ती स्थानमा २९६ जना बाढीपीडित छन् । पीडितको स्वास्थ्य परीक्षण गरी औषधीसमेत वितरण भइरहेको छ ।
