काठमाडौं । एसीसी पुरुष प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ६ विकेटले पराजित गरेको हो । यसअघि, पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।
१०४ रनको लक्ष्य नेपालले २१।४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि अर्जुन कुमालले नटआउट ४५ र दीपेन्द्र सिंह ऐरीले नटआउट १२ रन बनाए । इशान पान्डेले २०, रोहित कुमार पौडेलले १० र देव खनालले २ रन जोडे । आसिफ शेख गोल्डन डकआउट भए ।
मलेसियाका लागि सैयद अजिज, अरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त मधुकरले १–१ विकेट लिए । पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको हो । मलेसियाका लागि सैयद अजिजले ४९ र अकिल वाहिदले ३९ रन बनाए । नेपालका लागि करण केसीले ४, ललित नारायण राजवंशीले २ तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
