काठमाडौं । बागमती प्रदेश सरकारले विपद् व्यवस्थापन, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा सर्वदलीय छलफल गरेको छ। मुख्यमन्त्री किरण थापामगरको आह्वानमा आज सर्वदलीय बैठक बसेको हो।
बैठकले उद्धार र राहतसँगै दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ। बैठकले तत्कालीन उद्धार र राहतसँगै प्रभावित बस्तीको दीर्घकालीन पुनर्निर्माण, पुनर्स्थापना गर्न प्रदेश सरकार दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको मुख्यमन्त्री थापामगरले जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘विपद्मा सम्पूर्ण राजनीतिक दलको ऐक्यबद्धता, राज्यका सबै संयन्त्रको प्रभावकारी परिचालन र जनताले प्रत्यक्ष महसुस गर्ने राहत आजको आवश्यकता हो।’ आजको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल, बहादुर सिंह लामासहित विषयगत मन्त्रालयका मन्त्री तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरू उपस्थित थिए।
