काठमाडौँ। बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
बुधबार चीनतर्फबाट आएको बाढीबाट उत्पन्न विपद्को अवस्थामा सरकारका साथै प्रतिनिधि सभाका सदस्यहरू समेत राहत तथा उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ( ३ ) बमोजिम सभामुखको निर्देशानुसार बैठक स्थगित गरिएको महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ । बाढीबाट रसुवा, नुवाकोट र धादिङका त्रिशुली नदीका तटीय क्षेत्रमा व्यापक क्षति भएको छ।
