विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। कार्कीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसले समर्थन फिर्ता लिए पनि कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मतका लागि तुलनात्मक सहज देखिएका छ।
कांग्रेसको समर्थन गुमाए पनि एमाले र नेपाली कम्युनिष्ट पार्टीबीचको सत्ता सहकार्यले कार्कीलाई प्रदेशसभामा आवश्यक बहुमतभन्दा १० मत बढीको सुविधा दिएको छ। ९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। हाल एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ सांसद छन्। दलको संख्या जोड्दा ५७ पुग्छ।
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत जोगाउन एमाले–नेकपाका सबै सांसद एक ठाउँमा उभिए आवश्यक भन्दा १० मत बढी हुन्छ।प्रदेशसभाको वर्तमान अंकगणितमा कांग्रेसका २९, एमालेका ४०, नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाका ५ र जसपाका १ सांसद छन्। राप्रपाका पाँचमध्ये सभामुखसमेत छन्।
यसअघि कांग्रेस सरकारको प्रमुख साझेदार थियो। कांग्रेसले भदौ ३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। कांग्रेसले समर्थन फिर्ता लिए पनि एमालेले नेपाली कम्युनिष्ट पार्टीलाई सरकारमा सहभागी गराएर नयाँ सत्ता समीकरण बनाइसकेको छ।
अहिलेको समीकरणलाई हेर्दा कोशी प्रदेशसभा स्पष्ट रूपमा दुई राजनीतिक ध्रुवमा विभाजित देखिन्छ। एकातिर एमाले र नेकपा छन् भने अर्कोतिर कांग्रेस छ। पाँच सांसद रहेको राप्रपा र एक सांसद रहेको जसपा तत्कालका लागि निर्णायकभन्दा पनि सम्भावित सत्ता समीकरणका ‘वैकल्पिक शक्ति’ बनेका छन्।
एमाले–नेकपा गठबन्धनसँग ५७ मत भएकाले कांग्रेस, राप्रपा वा जसपाको समर्थनबिना नै कार्कीले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था छ। त्यसैले सोमबार हुने मतदानमा कांग्रेसको भूमिकाभन्दा एमाले–नेकपा गठबन्धनभित्रको एकता महत्वपूर्ण रहने एक सांसदले जनाए।
मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ मा मुख्यमन्क्री नियुत्त भएपछि उनले वैशाख ३१ मा पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।
त्यसपछि सत्ता समीकरण फेरिएर एमाले र कांग्रेसबीच सहकार्य बनेपछि कार्कीले २०८१ असोज २ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला ८३ सांसदले मतदानमा भाग लिएकोमा उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।
अब भने परिस्थिति फेरिएको छ। अघिल्लो पटक कार्कीलाई विश्वासको मत दिएको कांग्रेस विपक्षी बेन्चमा पुगेको छ। विश्वासको मत लिनुअघि मुख्यमन्त्री कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्न शनिबार काठमाडौं जाने कार्यक्रम रहेको थियो । यही संवादका कारण पनि विश्वासको मत लिने मिति सारिएको नेताहरूले बताएका छन्।
