काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष धिरज सेठले आज भेटवार्ता गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाट आज हुनेछ। आइतबार प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गरेका थिए।
गत जुन ३० मा भारतीय सेनाको नेतृत्वमा सम्हालेका जनरल सेठले कार्यभार सम्हालेको ६ महिनाभित्रै पहिलो विदेश भ्रमणका रुपमा नेपाल आएका हुन्। नेपाल र भारतका सेना प्रमुख एक अर्काका मुलुकका मानार्थ सैन्य प्रमुख हुने परम्परा छ।
सन् १९५० देखि नेपाल र भारतबीचको विशेष सैन्य सम्बन्धको महत्त्वपूर्ण प्रतीकका रूपमा दुवै देशका प्रधानसेनापतिलाई एक(अर्को देशको मानार्थ महारथीको दर्जा दिने परम्परा रहँदै आएको छ। यसलाई विशेष सैन्य सम्बन्धको महत्त्वपूर्ण प्रतीकका रूपमा लिइन्छ।
यो परम्परा नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको वर्ष सन् १९५० देखि सुरु भएको हो। भारतीय सेनाका प्रथम प्रधानसेनापति जनरल के।एम। करिअप्पा नेपालबाट मानार्थ महारथीको दर्जा प्राप्त गर्ने पहिलो भारतीय सेना प्रमुख हुन्। नेपाली सेनाका तत्कालीन प्रधानसेनापति जनरल किरण शमशेर राणालाई भारतबाट मानार्थ महारथीको दर्जा प्राप्त गर्ने पहिलो नेपाली सेना प्रमुखका रूपमा उल्लेख गरिन्छ।
