काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको अवस्था हुँदाहुँदै अचानक बीचमै रहस्यमय ढङ्गले हस्ताक्षर र मिति घोषणा गरेर कांग्रेसमा षड्यन्त्रपूर्वक र योजनाबद्ध ढङ्गबाट अनपेक्षित चिरा पार्ने काम गरिएको बताएका छन्। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आक्रमणमा परेर जीवनमरणको सङ्घर्ष गर्दै अस्पतालमा बसेका सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न र आफूमा नेतृत्व हात पार्न महामन्त्रीद्वयको निरन्तर दबाब आइरहेको बताएका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘जसलाई नेतृत्व हस्तान्तरणको अवाञ्छित प्रक्रिया अवलम्बन गर्न खोजिएको रूपमा प्रस्टसँग बुझ्न सकिन्छ । रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरण जस्ता शब्दहरू प्रयोग गर्दै महामन्त्रीद्वयबाट क्रमशः महत्त्वाकाङ्क्षी योजना मात्र प्रकट भइरहेको थियो । रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरण जस्ता शब्दहरूप्रति हाम्रो विमति नभएपनि हरेक निर्णयहरू विधिसम्मत, स्थापित, स्वाभाविक र मर्यादित ढङ्गबाट हुनुपर्छ भन्नेमा हामी दृढ थियौँ र छौँ ।’
रूपान्तरण वा हस्तान्तरणका नाममा नेतृत्वमा पुग्ने र असमझदारी, असहमति फराक पार्ने अनि पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत पन्छाउने र अपमानित गर्ने खेल अहिले पनि चलिरहेको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘यसमा हामी कुनै पनि हालतमा सहमत छैनौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने पूर्व सन्ध्यामा अवैध तरिकाबाट विशेष महाधिवेशन गरी पार्टीको नेतृत्व कब्जा गर्ने दुराशयपूर्ण रणनीति यसबाट स्पष्ट हुन्छ ।’
यही प्रकरणबाटै महामन्त्रीद्वयले नेपाली कांग्रेसलाई चिरा पार्ने, एकलौटी कब्जा गर्ने, नेताहरूको तेजोवध गर्ने सङ्गठित प्रयास सुरु गरेको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘अहिले १५ औँ महाधिवेशनका लागि निर्धारित समयभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यहरूलाई पनि अद्यावधिक गर्न गराउन धम्कीपूर्ण दबाब दिइरहेको छ । यो सरासर विधान विपरीत दुराशयपूर्ण कार्य हो भन्ने हाम्रो ठहर छ । एउटै महाधिवेशनका लागि दोहोरो सदस्यता नवीकरणको प्रावधान कतै पनि आवश्यक नहुने भनिरहनु पर्ने विषय होइन। हामीले स्पष्ट भनेका छौँ, अद्यावधिकको पासो थाप्नु हुँदैन ।’ सर्वोच्च अदालतबाट पुनरवलोकनको अनुमति नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएकाले आफूहरूले स्वागत गरेको बताएका छन्।
