हेटौडा । बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा १६ सांसदको हस्ताक्षर गरेका छन्। बुधबार १६ सांसदको हस्ताक्षरसहित संसदीय दलको कार्यालय, हेटौँडामा अविश्वासको प्रस्ताव दर्ता भएको हो। स्रोतका अनुसार उनी विरुद्धको अविश्वासको प्रस्तावमा चितवनकै दुई सांसदले समेत हस्ताक्षर गरेका छन्।
चितवन १( १ ) बाट निर्वाचित थपलियालाई चितवन २( १ ) बाट निर्वाचित सांसद कृष्णप्रसाद सिलवाल र चितवनबाटै समानुपातिक सांसद हरिप्रसाद सापकोटाले समेत अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका हुन्। दलको कार्यालयमा दर्ता गर्न समेत सिलवालको नेतृत्वमा सापकोटा र काभ्रेबाट समानुपातिक निर्वाचित सांसद ज्ञानबहादुर तामाङ उपस्थित भएका थिए।
यस्तै अविश्वासको प्रस्तावको पक्षमा सांसदहरू किरण थापा, प्रेमभक्त महर्जन, रघुनाथ महर्जन, भारती पाठक, आनन्दकुमार श्रेष्ठ, जयराम थापा, डा। दिनेशचन्द्र देवकोटा, बिन्दु श्रेष्ठ, भरत केसी, माइली तामाङ, माया कुमारी कार्की, रामेश्वर श्रेष्ठ, सकुन्तला श्रेष्ठ र ज्ञानबहादुर तामाङले हस्ताक्षर गरेका छन्। १८ जनाले अविश्वास जनाएको भनेर दाबी गरे पनि पत्रमा १६ सांसदले मात्रै हस्ताक्षर गरेको एक नेताले जानकारी दिए।
उपसभामुख अप्सरा चापागाई र सांसद मधुसूदन पौडेलले पनि सहमति जनाएको किरण थापा निकट नेताको दाबी छ। यद्यपि दुवै जनाले पत्रमा हस्ताक्षर भने गरेका छैनन्। बागमती प्रदेश सभामा नेकपा एमालेका २५ सांसद छन्, जसमा १६ जना किरण थापा पक्षमा उभिएको देखिन्छ भने बाँकी ९ जना जगन्नाथ थपलियाको पक्षमा देखिएका छन्।
अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्नेमा थपलिया, उपसभामुख चापागाई र पौडेलसहित एकालाल श्रेष्ठ, ठुला थामी, बालकुमारी विश्वकर्मा, केशव प्रसाद पोखरेल, सुकुमाया तामाङ र उर्मिला सुनार छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले सचिव महेश बस्नेत निकटका थापालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने तयारीस्वरुप वर्तमान दलका नेता थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।
साउन १८ गते सोमबार राति मुख्यमन्त्रीकै विषयमा छलफल गर्दागर्दै स्वास्थ्यमा समया देखिएपछि अस्पताल भर्ना भएका थपलिया एक साता अस्पताल बसाइपछि मंगलबार मात्रै डिस्चार्ज भएका थिए। उनको स्वास्थ्यमा सुधार आउनेबित्तिकै एमालेभित्र दलको नेता फेर्ने खेल सुरु भएको छ। दर्ता भएको अविश्वास प्रस्ताव एमाले संसदीय दलको विधानतः ७ दिनभित्र संसदीय दलको बैठक बसेर छलफल गर्नुपर्ने हुन्छ।
