काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ‘उम्मेदवार छनोट रुपरेखा–२०८३’ सार्वजनिक गरेको छ । पार्टी महामन्त्री विपिन कुमार आचार्यले तयार गरेको रुपरेखा साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि रुपरेखा सार्वजनिक गरेको हो। उक्त बैठकले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवार छनोट गर्न आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको थियो ।
बैठकको निर्णयमा भनिएको छ, ‘आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवारहरू छनोट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा आगामी भाद्र १ गतेदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने निर्णय गरिएको छ।’ रुपरेखामा उम्मेदवार छनोट आचारसंहिता तथा दण्ड–सजयासम्बन्धी पाँच बुँदे विशेष व्यवस्था गरिएको छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न, उम्मेदवार छनोट प्रक्रियाप्रति सदस्य तथा नागरिकको विश्वास कायम राख्न र स्थानीय तहको उम्मेदवार छनोटलाई पूर्ण रूपमा पारदर्शी, निष्पक्ष, मर्यादित र विधिसम्मत बनाउन शून्य सहनशीलता ९जिरो टोलरेन्स० को नीतिसहित आचारसंहिता तथा दण्ड–सजायसम्बन्धी विशेष व्यवस्था लागू गरिएको छ ।
१. आर्थिक लेनदेन तथा चलखेलमा पूर्ण प्रतिबन्ध
उम्मेदवारी प्राप्त गर्ने वा गराउने उद्देश्यले, मूल्याङ्कनलाई प्रभावित पार्ने गरी कुनै पनि प्रकारको आर्थिक लेनदेन, चन्दा, सहयोग, उपहार, सुविधा, प्रत्यक्ष वा परोक्ष प्रलोभन, वा अन्य भौतिक लाभ दिन–लिन पूर्ण रूपमा निषेध गरिएको छ । उम्मेदवार छनोट प्रक्रियामा पैसाको प्रभाव, पहुँचको दुरुपयोग वा सौदाबाजीले कुनै स्थान पाउने छैन। यस्तो आर्थिक चलखेल वा अनुचित लेनदेनमा संलग्न लिने र दिने दुवै पक्षलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी तत्काल निष्कासन गरिनेछ।
२. आन्तरिक मतदान तथा मूल्याङ्कनमा धाँधलीविरुद्ध कडा कारबाही
उम्मेदवार छनोट रूपरेखा अन्तर्गत क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी मूल्याङ्कन, समावेशिता अङ्क, प्रारम्भिक निर्वाचन वा अन्य कुनै पनि चरणमा हुने आन्तरिक मतदान, तथ्याङ्क सङ्कलन, प्रमाणीकरण वा स्कोरकार्ड प्रणालीमा जाली मत खसाल्ने, तथ्याङ्क तोडमोड गर्ने, प्रणालीमा अनधिकृत पहुँच गर्ने, नक्कली कागजात प्रयोग गर्ने वा कुनै पनि प्रकारको अनुचित प्रभाव पार्ने कार्यलाई गम्भीर निर्वाचन धाँधली मानिनेछ।
यस्तो कार्यमा संलग्न जो–कोही व्यक्तिलाई पार्टी सदस्यताबाटै बर्खास्त गरिनेछ र आवश्यक परे प्रचलित कानुनबमोजिम थप कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिनेछ।
३. छनोट समितिमा संलग्न पदाधिकारी तथा सदस्यहरूको आचरण
केन्द्रदेखि वडा तहसम्म गठन भएका उम्मेदवार छनोट समिति, मूल्याङ्कन समिति, उपसमिति वा कार्यदलमा रहेका कुनै पनि पदाधिकारी वा सदस्यले आफ्नो पदीय मर्यादा, निष्पक्षता र संस्थागत जिम्मेवारी विपरीत कार्य गरेमा, कुनै उम्मेदवारप्रति पक्षपात गरेमा, अनुचित प्रभावमा परेमा, गोप्य सूचना चुहाएमा, प्रक्रियाको गोपनीयता भङ्ग गरेमा वा निर्णय प्रक्रियालाई विकृत बनाउन खोजेमा त्यसलाई गम्भीर अनुशासनहीनता मानिनेछ। यस्तो कार्य गर्ने पदाधिकारी वा सदस्यलाई तत्काल सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरी पार्टी सदस्यताबाटै निष्कासन गरिनेछ।
४. गुटबन्दी, दुष्प्रचार र चरित्र हत्यालाई गम्भीर अनुशासनहीनता मानिने
उम्मेदवारीको पक्षमा माहोल बनाउन पार्टीको आधिकारिक संयन्त्रबाहिर गुटगत भेला गर्ने, समानान्तर संरचना खडा गर्ने, दबाब समूह निर्माण गर्ने, पार्टीका आधिकारिक निर्णय प्रक्रियालाई अवरुद्ध गर्न खोज्ने, वा अन्य आकांक्षी, पार्टी संरचना वा मूल्याङ्कन संयन्त्रविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रामक सूचना, मिथ्या आरोप, दुष्प्रचार वा चरित्र हत्या गर्ने कार्यलाई अनुशासनको गम्भीर उल्लङ्घन मानिनेछ।
राजनीतिक प्रतिस्पर्धा स्वस्थ, मर्यादित र विचार–केन्द्रित हुनुपर्छस व्यक्तिहत्यात्मक, गुटगत र विधिविरोधी अभ्यासलाई पार्टीभित्र कुनै स्थान दिइने छैन। यस्तो कार्यमा संलग्न आकांक्षीको उम्मेदवारी प्रक्रिया तत्काल खारेज गरी अनुशासनको कारबाही अघि बढाइनेछ।
५. कार्यान्वयन र प्रमाणको आधार
माथि उल्लेखित कुनै पनि बुँदामा कारबाही अघि बढाउँदा केवल आरोप, अनुमान वा उजुरीका भरमा निर्णय गरिने छैन। आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी प्राप्त हुनासाथ पार्टीको केन्द्रीय अनुशासन आयोगले द्रुत छानबिन संयन्त्र ( फास्ट ट्रयाक मेकानिजम ) मार्फत तत्काल अनुसन्धान गर्नेछ।
छानबिनका क्रममा प्राप्त तथ्य, प्रमाण, डिजिटल अभिलेख, साक्ष्य, कागजात, प्रत्यक्षदर्शी बयान वा अन्य प्रमाणित आधारबाट आरोप पुष्टि भएको खण्डमा मात्र सम्बन्धित व्यक्तिलाई कारबाहीको अन्तिम किनारा लगाइनेछ। यस व्यवस्थाको उद्देश्य कसैलाई प्रतिशोधात्मक कारबाही गर्नु होइनस उम्मेदवार छनोट प्रक्रियालाई स्वच्छ, विश्वासयोग्य, विधिसम्मत र पार्टीको लोकतान्त्रिक चरित्रअनुरूप सुरक्षित राख्नु हो।
