काठमाडौँ । नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले आगामी साउन २५ देखि काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ बाट अभियान सुरु गर्ने तयारी गरेको हो । पार्टीको साउन १३ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार अभियान सञ्चालन हुन लागेको रास्वपाका सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियान अवधिभर प्रतिदिन कम्तीमा दुई जना जिम्मेवार नेताको उपस्थिति अनिवार्य गरिएको छ । तीमध्ये एक जना प्रतिनिधि सभा सदस्य अनिवार्य रूपमा रहने व्यवस्था मिलाइएको छ । अभियानबारे जानकारी दिँदै ढकालले भन्नुभयो, “आमनागरिकका गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने तथा सम्बन्धित निकायमा पु¥याई समस्या समाधान गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । यो अभियान सातै प्रदेश र पार्टीले निर्वाचन जितेका ७१ जिल्लामा पनि विस्तार गरिने छ ।” उहाँका अनुसार पार्टी कार्यालयमा नेताहरू तथा सांसदहरूको न्यून उपस्थिति हुन थालेको र नागरिकका गुनासाप्रति थप संवेदनशील हुनुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अभियान सुरु गर्न लागिएको हो ।
अभियानमा बिदाको दिनबाहेक एक जना केन्द्रीय सदस्य र एक जना सांसद अनिवार्य रूपमा उपस्थित हुने व्यवस्था गरिएको छ । अभियानमार्फत नागरिकबाट प्राप्त गुनासा, समस्या तथा सुझावलाई प्रत्यक्ष रूपमा सुनेर सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने उद्देश्य रहेको रास्वपाले जनाएको छ । जनप्रतिनिधिलाई नागरिकसँग नियमित सम्पर्कमा राख्ने र जनभावनालाई नीति तथा कार्यक्रम निर्माणसँग जोड्ने लक्ष्यसहित अभियान सञ्चालन गर्न लागिएको पार्टीले स्पष्ट पारेको छ ।
पार्टीले यसलाई जनउत्तरदायित्व र सार्वजनिक सुनुवाइको प्रभावकारी अभ्यासका रूपमा अघि बढाउने जनाएको छ । साथै अभियानलाई पार्टी कार्यालयकेन्द्रित कार्यक्रमका रूपमा मात्र सीमित नराखी नागरिकसँग निरन्तर संवाद गर्ने स्थायी संयन्त्रका रूपमा विकास गर्ने तयारी पनि गरिएको छ । यसैबिच रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२६ को तयारीलाई पनि तीव्र बनाएको छ । आयोजक समितिका संयोजक कवीन्द्र बुर्लाकोटीको अध्यक्षतामा बसेको बैठकले तयारीको प्रगति विवरणबारे समीक्षा गरेको छ ।
