काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ। बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै प्रदेश सरकारसम्बन्धी आवश्यक निर्णय उपयुक्त समयमा अध्यक्ष लिङ्देनले गर्ने निर्णय गरेको हो।
बैठकले राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता–समीकरणको गणितीय चलखेलमा सहभागी नरहेको र तत्काल सहभागी हुने अवस्थामा पनि नरहेको स्पष्ट पारेको छ। प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० कै सहकार्यमा बनुन् भन्ने राप्रपाले चाहेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
यद्यपि, प्रदेश सरकारसम्बन्धी निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर उपयुक्त समयमा निर्णय गर्ने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई प्रदान गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। साथै, पार्टीको निर्देशनबिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन प्रदेशका संसदीय दल र प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिइएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा कुनै औपचारिक छलफल वा निर्णय नभएको बताएका छन्। लिङ्देनले राप्रपा आफैं सरकारमा जान पहल गर्ने पक्षमा नरहेको स्पष्ट पारे।
लिङ्देनले हालसम्म कुनै दलसँग औपचारिक संवाद नभएको र कुनै दलले सहयोगका लागि अनुरोधसमेत नगरेको बताए। ‘हामीले अहिले कुनै हिसाब–किताब लगाएका छैनौँ। कुनै दलसँग औपचारिक कुराकानी पनि भएको छैन। कुनै दलले अनुरोध पनि गरेको छैनन्’ उनले भने, ‘हामी आफैं खोज्दै जाने नीति छैन। यदि हाम्रो इच्छा भएको भए हामी आफैं कुरा गर्न जान्थ्यौँ होला।’
उनले सरकार गठनका लागि राप्रपाको सहयोग आवश्यक ठाने सम्बन्धित दलहरू नै वार्ताका लागि आउनुपर्ने धारणा राखे। अरूलाई इच्छा छ र हाम्रो सहयोग चाहिने हो भने उनीहरू हामीसँग कुरा गर्न आउनुपर्छ’,उनले भने। लिङ्देनले केही राजनीतिक दलले राप्रपाका सांसदहरूसँग छुट्टाछुट्टै रूपमा सम्पर्क र छलफल गरिरहेको सूचना आएको उल्लेख गर्दै त्यसलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए। बागमती प्रदेश सरकारको समीकरणबारे बोल्दै उनले त्यहाँ सरकार गठनका लागि अन्य विकल्प रहेको बताए।
‘बागमतीमा सरकार चलाउन नेमकिपा छ, अरू दल छन्। फेरि कांग्रेससँग मिले त सक्कियो नि। मिलेर भागबण्डा लगाएर बाँकी रहेको छ महिना चलाए भइहाल्यो,’ उनले व्यंग्य गरे। उनले राप्रपा प्रदेश सरकारको अंकगणितमा सहभागी नहुने स्पष्ट पार्दै बागमती प्रदेश सरकारमा सहभागी हुने वा नहुने अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टीले अध्यक्षलाई नै दिएको जानकारी दिए।
