काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती शुरु भएको टिप्पणी गरेका छन्। बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेका कारण यसको आयु छोटिन सक्ने दावी गरे।
परिवर्तनका पक्षधर र प्रगतिशील शक्तिहरूले समेत वर्तमान अवस्थालाई निराशाजनक रूपमा लिएको उल्लेख गर्दै उनले जनताले ठूलो धोका महशुस गरिरहेको बताए। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा पनि समस्यामा पर्दै गएको उनको भनाइ छ। देशको आर्थिक अवस्था डामाडोल भएको प्रति चिन्ता व्यक्त गर्दै उनले विदेशी ऋणको भार, उत्पादनमा कमी, सुकुम्वासी समस्या, मिटरब्याज र लघुवित्त पीडितका समस्याप्रति राज्य उदासीन रहेको आरोप लगाए।
सरकारले यथाशिघ्र यी समस्या समाधान नगरे नयाँ आन्दोलन निर्माण गर्ने चेतावनी समेत उनले दिए। कम्युनिस्ट पार्टीहरूबीचको एकता र सहकार्यको सन्दर्भमा महासचिव विप्लवले परम्परागत ढङ्गले पार्टी थप्ने वा फुटाउने प्रवृत्तिले निकास नदिने स्पष्ट पारे।
