काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत रु एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको हो। बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिनेछ।
सूचनाअनुसार निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम रु १० करोडदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एउटै सहभागीले फरकफरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अंकसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ। केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याज दरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गरिनेछ। समान ब्याजदरमा माग बढी भए ‘प्रो(राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ। सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने सूचनामा उल्लेख छ।
बैंकले निक्षेप संकलन उपकरणलाई लगानी पोर्टफोलियोका रूपमा गणना गरिने जनाए। यसमा संकलित रकम अनिवार्य नगद मौज्दात ९सीआरआर० मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात ९एसएलआर० तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरियो। साथै, परिपक्व अवधि पूरा हुनुअघि पूर्वभुक्तानी ९प्रि(म्याच्योर० सुविधा नहुने स्पष्ट पारिएको छ।
