बागलुङ। जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको पहिरोले कालीगण्डकी कोरिडोर सडकको बागलुङ खण्ड पाँच दिनदेखि ठप्प छ । निरन्तरको वर्षाले पहिरो पन्छाउन समस्या भएपछि शुक्रबारदेखि अवरुद्व सडक अझै खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ । बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीसम्म यात्रुवाहक सवारी र खाद्यान्न बोकेर आएका मालवाहक ट्रक बेलबगरमै रोकिएका छन् ।
सडक डिभिजन कार्यालयको समन्वयमा जेसिबी मेसिन परिचालन गरी पहिरो हटाउने कार्य भइरहे पनि निरन्तरको वर्षाले काम प्रभावित भएको छ । पहिरो ठुलो तथा जटिल प्रकृतिको भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
पहिरो पन्छाउन तीन वटा मेसिन प्रयोग गरिए पनि वर्षाका कारण काम प्रभावित भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । कमजोर भूबनोटका कारण बर्खायाममा बेलबगरको पहिरोले यात्रुलाई जोखिमपूर्ण यात्रा र सास्ती हुने गरेको छ ।
सालझन्डी–ढोरपाटन सडक सुचारु
सालझन्डी–ढोरपाटन सडक अन्तर्गत बुर्तिबाङ–ढोरपाटन खण्डको सुकुरदुङमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको छ । ढोरपाटन नगरपालिका–९, सुकुरदुङमा सोमबार राति खसेको पहिरोले पर्यटक बोकेको स्कोर्पियो पुरिनुकासाथै सडक अवरुद्व भएको थियो । स्काभेटरको प्रयोग गरेर पहिरो सफा गरेपछि सडक सुचारु भएको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिनुभयो । त्वातीका अनुसार सडकमाथिबाट खसेको पहिरोमा पुरिएको ग. १ य ९८२ नम्बरको स्कोर्पियो समेत सुरक्षित स्थानमा निकालिएको छ । पहिरोमा स्कोर्पियो पुरिए पनि मानवीय क्षति भने भएको थिएन ।
बर्सातमा बुर्तिबाङ–ढोरपाटन सडकको फल्लेघरदेखि माथिको खण्डमा लेदोसहितको पहिरो खस्दा पटक पटक अवरुद्व हुँदै आएको छ । १६ वर्षदेखि निर्माणाधीन यो खण्ड समयमै पूरा नहुँदा फल्लेघरको पहिरोले सास्ती दिएको ढोरपाटनका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले बताउनुभयो । नगरपालिकाले आफ्नै डोजर पठाएर सडक खुलाउँदै आएको छ ।
