काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित ‘राधास्वामी सुकुमबासी होल्डिङ सेन्टर’ बाढीका कारण जलमग्न छ।गएराति बागमती नदीमा पानीको बहाव बढेर सरकारी होल्डिङ सेन्टरमै बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरूलाई मध्यरातमा उद्धार गरिएको छ। बाढीबाट जोगाउने भन्दै सरकारले नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर उनीहरूलाई यस सेन्टरमा सारेको थियो। तर, सुरक्षित भनिएको स्थानमै बाढी पसेपछि सुकुम्बासीहरू पुनः विस्थापित हुन पुगेका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मध्यराति करिब १ बजे सेन्टरमा बाढी पसेको थियो। बाढी घुँडासम्म आउने गरी छिरेपछि सुकुम्बासीहरूले प्रयोग गर्दै आएका लत्ताकपडा र खाद्यान्न भिजेका छन्। ‘बाढी पसेपछि गएराति नै त्यहाँ बसेका हरूलाई सुरक्षित स्थानमा सारेका छौं’, प्रवक्ता भट्टराईले भने। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको सूचना पाएलगत्तै राति १ः३८ बजे नै उद्धार टोली घटनास्थल प्रस्थान गरेको थियो।
सशस्त्र प्रहरी बलको दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षक ( सप्रनाउ) को कमाण्डमा विपद् व्यवस्थापन टोलीसहित ३० जना र नेपाल प्रहरीका ३० जना गरी ६० जनाको संयुक्त टोली उद्धारमा खटिएको थियो। प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरिएको छ। बाँकीमध्ये ६ जना होस्टलमा बसेका छन् भने ९४ जनाले सुरक्षित स्थानमा जान अस्वीकार गर्दै सेन्टरभित्रकै पानी नपसेको सुरक्षित भागमा बसेका छन्।
विस्थापितहरूको राहत र सहयोगका लागि शनिबार बिहानैदेखि विषयगत क्षेत्र ( क्लस्टर ) सक्रिय पारिएको प्राधिकरणले जनाएको छ। हाल त्रिविको स्मृति भवन र सेन्टरमै रहेका प्रभावितहरूका लागि खाना, पिउने पानी र अन्य आवश्यक खाद्यान्न व्यवस्थापनको कार्य भइरहेको छ। नदी किनारका जोखिमपूर्ण बस्तीबाट हटाएर सुरक्षित स्थानमा सार्ने भन्दै सरकारले कीर्तिपुरको ‘राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर’ मा राखेका सुकुम्बासीहरू हिजोकै नियति व्यहोर्न विवश भएका छन्।
अविरल वर्षासँगै बागमती नदीमा आएको बाढी सरकारी सेन्टरभित्रै पसेपछि पीडितहरूले सरकारले आफूहरूलाई उल्टै बाढीको मुखमा धकेलेको भन्दै आक्रोश पोखेका छन्। गएराति सुतिरहेकै अवस्थामा अचानक सेन्टर जलमग्न भएपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरूको बिचल्ली भएको छ। ज्यान जोगाउन रातभर हिलो र पानीमा छटपटाउनुपरेको उनीहरूको गुनासो छ।
बाढीको चपेटामा परेका एक सुकुम्बासीले आफ्नो पीडा पोख्दै भने, ‘राति हाम्रो बिजोग बिजोग भयो, एक्कासि बाढी आयो। बालेनले ( प्रधानमन्त्रीले ) हामीलाई बाढीबाट जोगाउन यहाँ ल्याएको भन्नुभएको थियो, तर उहाँले नै हामीलाई बाढीमै पुर्याउनुभयो। यहाँ धेरै बिरामीहरू पनि छन्, सरकारले सुकुम्बासीमाथि बर्बर गर्यो। अलिकति पानी पर्दा पनि जलमग्न हुने ठाउँमा थाहा पाउँदा पाउँदै पनि सरकारले हामीलाई यहाँ ल्याएर राख्यो।’ पीडितहरूका अनुसार सामान्य वर्षामा समेत डुबान हुने सुन्दरीघाटको यस सेन्टरमा आफूहरूलाई सारेर सरकारले लापरबाहीको पराकाष्ठा देखाएको छ।
रातको समयमा अचानक पानी पसेकाले धेरैले आफ्नो ओढ्ने–ओछ्याउने र खाद्यान्नसमेत जोगाउन पाएका छैनन्। शनिबार बिहानैदेखि घटनास्थलमा विभिन्न विषयगत क्लस्टरहरू सक्रिय भई प्रभावितहरूका लागि खाना, पिउने पानी र आवश्यक राहत सामग्री व्यवस्थापनको काम गरिरहेका छन्। बाढीबाट जोगाउने भन्दै सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले वैकल्पिक व्यवस्थाका नाममा उनीहरूलाई झन् ठूलो जोखिममा पारेको सुकुम्बासीहरुको गुनासो छ।
