धनुषा । मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्याय माग्दै काठमाडौँका लागि हिँडेका पीडितहरू धनुषाको ढल्केबर पुगेका छन्। मिटरब्याजीको चक्रव्यूहमा फसेका किसान र मजदुरहरूले सरकारलाई दबाब दिने उद्देश्यले जनकपुरधामबाट उनीहरुले पैदल ‘न्याय मार्च’ सुरु गरेका हुन्।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको यो पैदल यात्रा सङ्घीय राजधानी काठमाडौँसम्म पुग्ने तय भएको छ। जनकपुरधामको तिरहुतियागाछीमा औपचारिक कार्यक्रम गरी बिहीबार साँझ ५ बजे निस्किएका पीडितहरू यात्राको दोस्रो दिन बिहानै ढल्केबर आइपुगेका हुन्।
सरकारले यसअघि मिटरब्याज पीडितहरूसँग चार पटकसम्म लिखित सहमति गरे पनि ती सहमतिहरू अझै कार्यान्वयन हुन सकेका छैनन्। राज्यले आफूहरूसँग गरेका बाचा र सहमतिहरू कागजमै सीमित भएपछि फेरि पनि सरकारलाई घचघच्याउन र दबाब दिन काठमाडौँसम्मको लामो पैदल यात्रा तय गर्नुपरेको पीडितहरूले बताएका छन्।
उनले वालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेता पनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको भन्दै गुनासो पोखे । अध्यक्ष सेन्चुरीले सरकारसँग चार पटक सहमति भए पनि कुनै सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले अन्तिम प्रयास स्वरुप पुनः पैदल मार्च गर्नुपरेको बताए ।
उनले काठमाडौं पुगेर सरकारविरुद्ध आन्दोलन गर्नुअघि सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको पनि बताए । उनले मिटरब्याजपीडित देशभरि छरिएर रहेकोले सबैलाई काठमाडौं सम्मको पैदल यात्रामा सहभागी हुन आव्हान गरेका छन् ।
