काठमाण्डौं । राइडर गणेश नेपालीको मृत्यु भएको घटनामा तीन जना नगर प्रहरीमाथि सोधपुछ भएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभाग पछाडिको सडकमा बिहीबार खटिएका तीन जना नगर प्रहरीलाई बोलाएर सोधपुछ गरेको प्रहरीले जनाएको छ। दुई जना महिला नगर प्रहरी र एक जना पुरूष प्रहरीलाई बोलाएर घटनाबारे सोधिएको हो। नेपालीको शुक्रबार बिहान उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।
मुगु सोरू गाउँपालिका(२ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो १स्४० बजेतिर नेपालीले त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग पछाडिको सडकमा आफैमाथि आगजनी गरेका थिए। त्यसपछि उनको वीर अस्पतालमा उपचार गरिएको थियो। उनी राइड सेयरिङका राइडर हुन्। यात्रु लिएर विभाग पुगेका उनको मोटरसाइकलमा ह्विल लक लगाएको विषयमा काठमाडौं महानगर प्रहरी बलका अधिकारीसँग विवाद भएको थियो।
एसपी भट्टराईका अनुसार उनी त्यहाँ करिब ११ बजेतिर विभाग पुगेका थिए। विवाद भएपछि त्यहाँबाट निस्किएका उनी १स्४० बजेतिर फर्किएको एसपी भट्टराईले बताए।त्यसबेला उनको मोटरसाइकल महानगर प्रहरीले लैजान लागेपछि उनले आत्मदाह प्रयास गरेको एसपी भट्टराईले जानकारी दिए।
उनले आफैमाथि आगो लगाएपछि त्यहाँ रहेका मानिसहरूले पानी छर्केर निभाएका थिए। पछि उनलाई प्रहरी र सर्वसाधारणले डोहोर्याएर मुख्य सडकसम्म ल्याएका थिए। त्यही बेलामा ट्याक्सी खोजेर त्यसमा राखेर उनलाई वीर अस्पताल लगिएको थियो। मृतक नेपालीको शव पोष्टमर्टमको लागि अहिले टिचिङ अस्पताल लैजाने तयारी भइरहेको छ।
