काभ्रे । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षा उपलब्ध गराउने स्पष्ट लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय ९केयू० को ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।
समारोहमा मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरे । ‘नयाँ पिँढीले सोचेजस्तो समुन्नत समाज निर्माणका लागि हामी प्रयासरत छौँ,’ मन्त्री पोखरेलले युवाहरूलाई ढाडस दिँदै भने, ‘देशभित्रै अवसरहरू सिर्जना भइरहेकाले दीक्षित युवाहरू विचलित हुनु पर्दैन । यहाँ हासिल गरेको ज्ञान र सीपलाई देशकै हितमा सदुपयोग गर्नुहोस् ।’
सो अवसरमा मन्त्री पोखरेलले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र तथा पदक वितरण गरेका थिए । केयूबाट हालसम्म विभिन्न विधामा ५१ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको छ ।
