कैलाली । लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। कमलेशप्रसाद यादवबीच देखिएको विवाद अन्ततः समाधान भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा शनिबार भएको वार्तापछि दुवै पक्षले आपसी समन्वय, सहकार्य र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएसँगै विवाद समाधान भएको हो।
सामाजिक विकासमन्त्री बेलबहादुर रानामगर तथा प्रदेशसभा सदस्य दिवानसिंह विष्टको उपस्थितिमा भएको वार्तापछि अस्पतालको गरिमा कायम राख्ने, कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने तथा सेवा प्रवाहमा कुनै अवरोध आउन नदिने सहमति भएको मन्त्रालयले जनाएको छ।
केही समयदेखि अस्पतालको व्यवस्थापन तथा कार्यसम्पादनका विषयमा नगरप्रमुख शाही र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. यादवबिच विवाद चर्किएको थियो। उक्त विवाद सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा सार्वजनिक भएपछि सामाजिक विकास मन्त्रालयले यसलाई गम्भीर रूपमा लिँदै दुवै पक्षलाई वार्तामा बोलाएको थियो।
यसअघि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको पेशागत मर्यादा, सुरक्षित कार्य वातावरण र स्वास्थ्य सेवामा कुनै पनि प्रकारको गैरकानुनी हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको थियो। साथै, प्रशासनिक तथा व्यवस्थापकीय विवाद कानुनी र संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएको थियो। वार्तापछि दुवै पक्षले विगतका असमझदारी अन्त्य गर्दै आपसी संवाद र सहकार्यका माध्यमबाट लम्कीचुहा प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
