काठमाडौं । नेकपा ( एमाले ) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आगामी असार १६ गते सुनुवाइ हुने भएको छ।
पौडेलकी पत्नी दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन्। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
अदालतले त्यसपछिको सुनुवाइ असार १६ गतेका लागि तय गरेको हो। यसअघि विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।
विशेष अदालतले अनुसन्धान प्रक्रिया अगाडि बढाउन सात दिन हिरासतमा राख्ने अनुमति दिएको छ। हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि थप अनुसन्धान गरिरहेको बताइएको छ।
