चितवन । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) लाई मुलुकमा व्याप्त पुराना विकृति र विसंगति अन्त्य गर्दै नयाँ दिशामा लैजाने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन्। चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
अध्यक्ष यादवले निर्वाचनपछि प्राप्त नयाँ जनादेशले रास्वपालाई विगतका बेथितिहरूलाई पछाडि छाडेर अगाडि बढ्ने जिम्मेवारी सुम्पिएको उनले बताए। उनले भने, ‘विगतका विकृति र विसंगतिलाई त्यहीँ छाडेर नयाँ युगको थालनीका लागि यो महाधिवेशन कोशेढुङ्गा सावित हुनेछ।’ सम्बोधनका क्रममा यादवले मुलुक अहिले सुशासन, समृद्धि र सामाजिक न्यायको व्यग्र प्रतीक्षामा रहेको उल्लेख गरे।
सयौँ वर्षदेखि विभेदमा पारिएका विभिन्न भाषा, संस्कृति र समुदायका नागरिकले अहिले समानताको हक र अधिकार खोजिरहेको उनको भनाइ थियो।‘मुलुकमा संघीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धि त हासिल भए, तर वर्तमान संविधान अझै त्रुटिपूर्ण र अधुरो छ,’ उनले भने, ‘संविधानभित्रका विरोधाभास हटाउन यसको संशोधन र परिमार्जन अपरिहार्य छ।’
